एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

२०८२ असार २८, शनिबार १९:४१

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान गरेको छ।

शुक्रवार कलेजको सभा हलमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै सम्मान गरिएको हो ।

सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए।

कार्यक्रममा बोल्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गर्ने कलेजको निरन्तर अभ्यास अन्तर्गत होनहार खेलाडीहरू भट्ट र रावललाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए।

“कलेजले प्रदान गरेको यो आजीवन छात्रवृत्तिले राष्ट्रका लागि समर्पित खेलाडीहरूलाई थप हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास छ। उनीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना छ,” उनले भने।

सचिन र सुशीलले मलेसियाबाट फर्कँदा एसपीए कलेजले धनगढी विमानस्थलमै स्वागत गरी सयौँ विद्यार्थीहरूको उपस्थितिमा सम्मान गरेको अनुभव सुनाउँदै यसले उनीहरूलाई मात्र नभई क्रिकेटमा भविष्य देखिरहेका अन्य धेरै खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। “हामी कलेज परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौँ, यो सम्मान प्राप्तिबाट हामीहरूको हौसला निकै नै बढेको छ ।” उनीहरूको भनाइ थियो।

एसपीए कलेजले विगतमा पनि खेलकुद क्षेत्रका साथै अन्य विविध विधाका प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण वा आंशिक छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ।

यसअघि पनि कलेजले युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी सुदूरपश्चिमका तीन खेलाडी मनीषा उपाध्याय, स्नेहा महरा, सावित्री धामी तथा प्रशिक्षक जानकी भट्टलाई एकमुष्ट एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy