टि-२० विश्वकप छनौट ( एसिया ) : नेपालको टुट्न सक्ने ११ ठुलो किर्तिमान

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता सोमबार देखि सिंगापुरमा सुरु भएको छ। प्रतियोगितामा आयोजक सिंगापुर सहित नेपाल, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता जित्ने टिमले अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ। दोश्रो टि-२० विश्वकप खेल्ने अभियानमा नेपाली क्रिकेट टिम रहंदा तुलनात्मक रुपमा आफु भन्दा कम स्तर र वरियताको टिमहरुसंग खेल्दैछ। नेपालको टि-२० अन्तर्राष्ट्रिय वरियता ११ रहेको छ भने कतारको २१, सिंगापुरको २३, कुवेतको २८, मलेसियाको ३५ रहेको छ।

२०१४ मा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु पछि तुलनात्मक रुपमा सबैभन्दा कमजोर टिमहरुसंग नेपालले खेल्न लागेको यो नै पहिलो पटक हो। प्रतियोगिताको सबै खेलहरु टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुँदा नेपाल सामु प्रतियोगिता जित्ने संगै धेरै रेकर्ड समेत तोड्ने मौका रहेको छ।  आफुभन्दा कमजोर टिमहरु र खेल हुने सिंगापुरको इन्डियन एसोसीएसन मैदानको बाउन्ड्री छोटो हुनाको कारण पनि नेपालले थुप्रै नयाँ किर्तिमान बनाउन सक्ने सम्भावना रहेको छ।

नेपालले तोड्न सक्ने ११ ठुलो किर्तिमान

१. सर्वाधिक टिम योगफल 

नेपालले टि-२० अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक योगफल १७३ रन हो। मलेसियासंग गत साता खेलिएको टि-२० सिरिज अन्तर्गत दोश्रो टि-२० मा पहिले ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। तुलनात्मक रुपमा नेपाल भन्दा वरियतामा कमजोर टिमहरु तथा छोटो बाउन्ड्री भएका कारण मलेसिया बिरुद्धको यो रेकर्ड नेपालले सजिलै तोड्ने अनुमान गर्न सकिन्छ। नेपालले एक पटक मात्र १५० भन्दा माथिको योगफल बनाउन सकेको छ।

नेपालको सर्वाधिक टिम योगफल –  १७३/६ बिरुद्ध मलेसिया ( २०१९ ) , १४९/८ बिरुद्ध हंगकंग ( २०१४ ) , १४१/७ बिरुद्ध नेदरल्याण्ड ( २०१५ )  , १४१/५ बिरुद्ध अफगानिस्तान ( २०१४ ) , १३२/७ बिरुद्ध युएई ( २०१९ )

२. सर्वाधिक व्यक्तिगत स्कोर

पारस खड्काले गत साता मलेसियासंग टि-२० सिरिज अन्तर्गत पहिलो टि-२० मा बनाएको अविजित ८६ रन नेपाली ब्याट्सम्यानको टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक व्यक्तिगत योगफल हो। नेपाली ब्याट्सम्यान सामु यो पटक सर्वाधिक व्यक्तिगत योगफलको रेकर्ड तोड्ने मौका रहेको छ।

नेपाली ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत स्कोर –
८६ रन ( पारस खड्का – बिरुद्ध मलेसिया, २०१९ )
५६ रन ( सुबास खकुरेल – बिरुद्ध अफगानिस्तान , २०१४ )
५४ रन ( पारस खड्का – बिरुद्ध नेदरल्याण्ड, २०१५ )
५३ रन ( सन्दिप जोरा – बिरुद्ध युएई , २०१९ )
५१ रन ( बिनोद भण्डारी – बिरुद्ध मलेसिया, २०१९ )

Paras Khadka , Gyanendra Malla

३. पहिलो शतक 

तथा टि-२० अन्तर्रास्ट्रियमा नेपाली खेलाडीको पहिलो शतकको प्रतीक्षा पनि समाप्त गर्ने यो प्रतियोगिता उत्कृस्ट अवसर रहेको छ। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीले एक मात्र शतक प्रहार गर्न सकेको छ। पारस खड्काले यसरी वर्ष जनवरीमा युएई बिरुद्ध ११५ रन बनाउदै इतिहास बनाएका थिए। सोहि इतिहास टि-२० अन्तर्राष्ट्रियमा टुट्न सक्ने सम्भावना रहेको छ।

४. छिटो अर्धशतक 

बिनोद भण्डारीले मलेसियासंग गत साता खेलिएको टि-२० सिरिजको दोश्रो खेलमा २५ बलमा अर्धशतक बनाउदै टि-२० अ. मा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन्। पारस खड्काले सोहि सिरिजको पहिलो खेलमा ३२ बलमा अर्धशतक बनाएको रेकर्ड १ खेल पछिनै भण्डारीले तोडेका थिए। यो रेकर्ड टि-२० विश्वकप छनौट एसिया फाइनलमा टुट्ने सम्भावना प्रवल छ।

नेपाली ब्याट्सम्यानको छिटो अर्धशतक –  बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ ) पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

५. ओपनिंग र दोश्रो विकेटको साझेदारी 

नेपालले टि-२० अन्तर्राष्ट्रियमा हंगकंगसंग डेब्यु गर्दा सुबास खकुरेल र सागर पुनले ३६ रनको ओपनिंग साझेदारी गरेका थिए। २०१९ सम्म पनि यो रेकर्ड नटुट्नुले नेपाली ओपनिंगको कथा बयान गर्छ। सुबास-सागर पछि , प्रदिप एरि-सागर पुन, सागर पुन-अनिल मण्डल, प्रदिप एरि-पारस खड्का, पारस खड्का-पवन सर्राफ जस्ता ओपनिङ्ग जोडी परिवर्तन भए पनि ३६ रन माथि भने ओपनिङ्ग साझेदारी हुन सकेको छैन।

नेपालको सर्वाधिक ओपनिङ्ग साझेदारी – ३६ रन ( सुबास खकुरेल – सागर पुन , २०१४ ) , ३४ रन ( पारस खड्का – पवन सर्राफ ,२०१९ ) , २९ रन ( प्रदिप ऐरी- पारस खड्का , २०१९ )

नेपालको दोश्रो विकेटको लागि सर्वाधिक साझेदारी ओपनिंग भन्दा कमजोर रहेको छ। २०१४ मै सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले अफगानिस्तानसंग टि-२० विश्वकपमा तथा सुबास र ज्ञानेन्द्रले नै नेदरल्याण्डसंग गरेको ३२ रनको साझेदारी दोश्रो विकेटको लागि सर्वाधिक साझेदारी हो। यी दुवै साझेदारीको रेकर्ड यो पटक टुट्न सक्नेछ।

Gyanendra Malla

६. सर्वाधिक विकेट

टि-२० अ. मा सोमपाल कामि र बसन्त रेग्मीले समान २०/२० विकेट लिएका छन्। तेश्रो नम्बरमा रहेका करनले १३ र चौथो नम्बरमा सन्दिपले ९ विकेट लिएका छन्। यो पटक सोमपाल, बसन्त, करन र सन्दिप जस्ता खेलाडीहरु बीच सर्वाधिक टि-२० विकेट लिने प्रतिस्पर्धा समेत हुनेछ।

सर्वाधिक विकेट – २० विकेट –  बसन्त रेग्मी ( १४ इनिंग ) , २० विकेट –  सोमपाल कामि ( १७ इनिंग ) , ११ विकेट – ( ११ इनिंग ) , ९ विकेट सन्दिप लामिछाने ( ६ इनिंग ) ,  ८ विकेट – शक्ति गौचन ( ८ इनिंग ) , ७ विकेट – अविनाश बोहरा ( ४ इनिंग )

७. सबैभन्दा ठुलो अन्तरको जित 

२०१४ टि-२० विश्वकपमा हंगकंगसंग टि-२० अ. को डेब्युमा नेपालले ८० रनको जित हाँसिल गरेको थियो जुन सबैभन्दा ठुलो रन अन्तरको जित हो। त्यसपछि दोश्रो ठुलो रन अन्तर भने १४ रनको हो जुन यसै वर्ष युएई बिरुद्ध नेपालले दर्ता गरेको थियो। यस्तै नेपालले मलेसियालाई गत साता टि-२० सिरिज अन्तर्गत पहिलो टि-२० मा ७ विकेटले पराजित गर्नु सबैभन्दा ठुलो विकेट अन्तरको जित हो।

८. एकै खेलमा सर्वाधिक विकेट 

२०१५ मा बसन्त रेग्मीले हंगकंग बिरुद्ध टि-२० विश्वकप छनौटमा लिएको ४ विकेट नेपाली बलरले एकै खेलमा लिएको सर्वाधिक विकेट हो। बसन्त बाहेक अन्य कुनै खेलाडीले एकै खेलमा ४ विकेट लिन सकेका छैनन्। शक्ति गौचन, बसन्त रेग्मी, जितेन्द्र मुखिया, अविनाश बोहरा, सागर पुन र करन केसीले एक पटक ३ विकेट लिएका छन्। सोमपाल कामि र सन्दिप लामिछानेले एकै खेलमा २ विकेट भन्दा बढी लिन सकेका छैनन्। यो रेकर्ड पनि टुट्ने सम्भावना प्रवल रहेको छ।

९. ५०० रन बनाउने पहिलो ब्याट्सम्यान 

टि-२० अन्तर्राष्ट्रियमा पारस खड्काको कुल रन ३९९ रहेको छ जुन उनले १७ खेलको १६ इनिंगमा ब्याटिंग गर्दै बनाएका हुन्। उनले थप १०१ रन बनाए टि-२० अ. मा ५०० रन बनाउने पहिलो नेपाली ब्याट्सम्यान बन्नेछन्।

धेरै रन बनाउने नेपाली ब्याट्सम्यान – ३९९ – पारस खड्का ( १६ इनिंग ) , २५५ – शरद भेसावकर ( १२ इनिंग ) , २०२ – ज्ञानेन्द्र मल्ल ( १६ इनिंग ) , ११३ – सोमपाल कामि ( ११ इनिंग ) , ११२  – सुबास खकुरेल ( ८ इनिंग ) , १०३ बिनोद भण्डारी ( १२ इनिंग )

Avinash Bohara

१०. एकै सिरिज/प्रतियोगितामा धेरै विकेट 

यसै वर्ष जनवरी/फेब्रुवरीमा युएई र नेपाल बीच सम्पन्न टि-२० सिरिजमा अविनाश बोहराले ३ खेलमा ६ विकेट लिंदै एकै सिरिज या प्रतियोगितामा धेरै विकेट लिने किर्तिमान बनाएका थिए। यो प्रतियोगितामा नेपालले ४ खेल खेल्दैछ त्यसैले यो रेकर्ड सहजै टुट्न सक्ने सम्भावना रहेको छ। बसन्त रेग्मीले सबैभन्दा बढी ३ पटक एकै सिरिज या प्रतियोगितामा ५ विकेट लिएका छन्। उनले २०१४ टि-२० विश्वकप, २०१५ टि-२० विश्वकप छनौट र नेदरल्याण्डसंग २०१५ को सिरिज दौरान समान ५ विकेट लिएका थिए। शक्ति गौचनले पनि टि-२० विश्वकप २०१४ मा ५ विकेट लिएका थिए भने युएईसंगको टि-२० सिरिजमा यसरी वर्ष सन्दिप लामिछानेले पनि ५ विकेटनै लिएका थिए।

११. एकै सिरिज/प्रतियोगितामा धेरै रन 

नेपालले नेदरल्याण्डसंग २०१५ मा खेलेको ४ टि-२० अन्तर्राष्ट्रियको सिरिजमा पारस खड्काले ४ खेलमा कुल १३७ रन बनाएका थिए जुन नेपाली ब्याट्सम्यानको टि-२० अ. मा एकै सिरिज/प्रतियोगितामा सर्वाधिक रन हो। पारसलेनै गत साता मलेसियासंग २ खेलमा कुल १०९ रन बनाएका थिए जुन दोश्रो सर्वाधिक हो। २०१४ विश्वकपमा शरद भेसावकरले कुल ९१ रन बनाएका थिए जुन तेश्रो सर्वाधिक रन हो। यो रेकर्ड पनि ४ खेल खेल्दा टुट्ने सम्भावना प्रवल रहेको छ।

( रेकर्ड श्रोत – ESPNCRICINFO )





थप समाचार

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]