ओमान बिरुद्ध नेपालको ऐतिहासिक जितमा बनेका ९ ठूला कीर्तिमान

२०७८ आश्विन ३, आईतवार २२:३७

१. एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान बिरुद्ध नेपालको यो पहिलो जित हो। यस अघि खेलिएको तिन वटा खेलमा नेपाल ओमानसंग पराजित भएको थियो।

२. विकेट अन्तरको आधारमा ७ विकेटको जित ओमान बिरुद्ध कुनै पनि देशको सर्वाधिक विकेट अन्तरको जित हो। यस अघि कुनै पनि देशले लक्ष्य पछ्याउने क्रममा ओमानलाई पराजित गर्न सकेको थिएन।

३. नेपालको ७ विकेटको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो ठूलो विकेट अन्तरको जित हो भने विदेशी भूमिमा विकेटको आधारमा सबैभन्दा ठूलो जित हो। यस्तै बल बाँकी रहेको आधारमा नेपालको यो दोश्रो ठूलो जित हो। नेपालले १९० बल बाँकि रहँदै ओमानलाई जित्न सफल रह्यो। बल बाँकी रहेको आधारमा नेपालको ठूलो जित अमेरिका बिरुद्ध २६८ बल बांकी रहँदै रहेको छ। गत वर्ष अमेरिका ३६ रनमा समेटिएपछि नेपालले खेल मार ५.२ ओभरमा जितेको थियो।

४. ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमै भेटायो जुन ओमान बिरुद्ध एकदिवसिय अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा सबैभन्दा छिटो जित हो।

५. खेलमा दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले गरेको ९५ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। ज्ञानेन्द्रले रोहितसंग ओमान भ्रमण अन्तर्गतनै पपुवा न्यु गिनीसंग तेश्रो विकेटको लागि ८९ रनको साझेदारी गरेका थिए जुन साझेदारी मल्ल समाबेश जोडीले तोडेको हो। हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा शतकीय साझेदारी गर्न सकेको छैन।

६. ज्ञानेन्द्र र आसिफले गरेको ९५ रनको साझेदारी ओमान बिरुद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। स्कटल्याण्डका एम क्रस र रिची बेरिंगटनले गरेको ८९ रनको साझेदारीको रेकर्ड ज्ञानेन्द्र र आसिफले तोडेका हुन्।

७. खेलमा करियरको चौंथो अर्धशतक बनाएका कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। उनले यस क्रममा ३ अर्धशतक बनाएका रोहित पौडेललाई उछिनेका हुन्।

८. खेलमा ४ विकेट लिएका करन केसी ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। करनले ४ खेलमा ओमान बिरुद्ध १० विकेट लिने क्रममा ८ विकेट लिएका नामिबियाका जोनाथन स्मिथलाई उछिनेका हुन्।

९. खेलमा ओमानले बनाएको १२१ रन नेपाल बिरुद्ध ओमानको सबैभन्दा कम योगफल हो भने ओमानको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोश्रो कम योगफल हो। गत वर्ष नेपाल बिरुद्ध घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ओमानले १९७ रन बनाएको थियो। ओमानको एकदिवसीय अन्तर्राष्ट्रियमा सबै भन्दा कम योगफल ८१ रन हो जुन २०१९ मा नामिबिया बिरुद्ध बनाएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy