नेपालद्वारा केन्या सात विकेटले पराजित

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध सोमवार भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गर्यो ।

सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।

नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।

यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।

बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए ।

यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।

केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई/दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट लिए ।

शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटौं तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy