एलेक्स हेल्सको प्रदर्शनमा भारतसँगको सिरिज बराबरी

२०७५ असार २३, शनिबार ०२:१९

  • विकेटनेपाल, असार २३ – शनिबार

भारतको इंग्ल्याण्ड भ्रमण अन्तर्गत सम्पन्न दोश्रो टि२० खेलमा इंग्ल्याण्डले भारतलाई २ बल अगावै ५ विकेटले पराजित गर्दै सिरिजमा १-१ को बराबरी गरेको छ। यसअघि भएको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाइ ८ विकेटले पराजित गरेको थियो।

इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले अविजित ५८ रन बनाउन मात्र ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै चौथो विकेटका लागि कप्तान ईयान मोर्गानसँग ४८ रनको साझेदारी गरेका थिए। मोर्गानले १७ रन बनाए त्यस्तै जोन्नी बेयारिस्टोले आक्रामक २८ रन प्रहार गर्न १८ बलमा २ छक्का प्रहार गरे। दुबै छक्का कुलदीप यादवको बलिंगमा प्रहार गरेका थिए।

भारतका लागि उमेश यादवले २ विकेट, भुवनेश्वर कुमार, हार्दिक पान्ड्य र युजवेन्द्र चाहलले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो। उसका लागि कप्तान विराट कोहलीले सर्बाधिक ४७ रन बनाउन ३८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै चौथो विकेटको लागि सुरेश रैनासँग ५७ रन तथा महेन्द्रसिंह धोनीसँग पाँचौ विकेटको लागि ३२ रनको साझेदारी गर्दै स्कोर उकास्न सहयोग गरेका थिए। रैनाले २७ रन बनाउन २० बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरमा २२ रन बनाउँदै अन्तिम १८ बलमा ३६ रनको अविजित साझेदारी गर्नेक्रममा धोनीले अविजित ३२ रन तथा हार्दिक पान्ड्यले अविजित १२ रन बनाए।

भारतले कुनै समय रोहित शर्मा (५ रन), शिखर धवन (१० रन), लोकेश राहुल (६ रन) लाई गुमाउँदै मात्र २२ रन बनाएको थियो। इंग्ल्याण्डका तर्फबाट जेक बल, लियाम प्लान्केट, डेविड विलि र राशिद खानले समान १/१ विकेट लिएका थिए।

अन्तिम ३ ओभरको रोमान्चकता

इंग्ल्याण्डलाई खेल जित्नको लागि अन्तिम ३ ओभरमा मात्र २३ रनको आबश्यकता रहँदा खेल सजिलो अवस्थामा देखिएको थियो। तर आठारौं ओभरको पहिलो बलमा भुवनेश्वर कुमारले बेयारिस्टोलाई आउट गर्दै मात्र ३ रन खर्चेपछी अन्तिम २ ओभरमा २० रनको आबश्यकता थियो। उन्नाईसौं ओभरमा उमेश यादवले पनि मात्र ८ रन खर्चेपछी भुवनेश्वर कुमारले अघिल्लो ओभर राम्रो गरेकोले अन्तिम ओभरमा १२ रन बनाउने अनुमान गरिएको थियो। तर अन्तिम ओभरको पहिलो दुई बलमा अलेक्स हेल्सले १० रन प्रहार गरेपछि इंग्ल्याण्डले सजिलै जित हात पार्यो।

टि२० सिरिजको अन्तिम तथा तेस्रो खेल आइतबार जुलाई ८ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy