एसिया कप : पाकिस्तानसामु हंगकंग निरिह

२०७५ भाद्र ३१, आईतवार २३:२३

  • विकेटनेपाल – भदौ ३१ 

युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत उपाधिको दाबेदार टिम पाकिस्तानले हंगकंगलाई सहजै ८ विकेटले पराजित गरेको छ।एसिया कप छनौट प्रतियोगितामा गत हफ्ता नेपाल, युएई र ओमानलाई पछि पार्दै एसिया कप खेल्न छनौट भएको हंगकंगले पाकिस्तानसामु कमजोर प्रदर्शन गर्यो।

पहिलो इनिंग  

बायाँ हाते तिब्र गतिका बलर मोहम्मद आमिरको पहिलो ओभरमानै निजाकत खानले ११ रन प्रहार गर्दै उत्कृस्ट स्रुरुवात गरेपनि हंगकंगले त्यसको फाइदा उठाउन सकेन। ३७.१ ओभरमा सबै विकेट गुमाउन अघि हंगकंगले ११६ रन मात्र जोड्न सक्यो।

पहिलो विकेटका लागि निजाकतले अन्शुमन राथसंग १७ रनको साझेदारी गरेपनि शदाब खानको डाइरेक्ट हिटमा निजाकत रन आउटको शिकार बनेका थिए। त्यसपश्चात कप्तान रथले इनिंग सम्हाल्ने प्रयासमा १९ रनको योगदान गरे। आठौँ ओभरको पाँचौं बलमा रथ क्याच आउट भएसंगै हंगकंगको विकेट पतनको शिलशिला सुरु भयो।


एजाज खानले व्यक्तिगत २७ तथा किन्चित साहले व्यक्तिगत २६ रन प्रहार गर्दै हंगकंगको ब्याटिंगलाई उकास्ने प्रयास गरेपनि शदाब खान, उश्मान खान र हसन अलिको घातक बलिंगको जवाफ कुनै ब्याट्सम्यानले दिन सकेनन्।

पाकिस्तानको बलिंगमा उश्मान खानले सर्वाधिक ३ विकेटहात पारे। यस्तै हसन अलि र शदाब खानको नाममा समान २-२ विकेट रह्यो। यस्तै फहीम अश्रफले अन्शुमन राथको महत्वपूर्ण विकेट लिएका थिए।

इमामको अर्धशतक , सहज जित  

११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमै पुरा गर्यो। ओपनर इमाज उल हकले अविजित ५० रन ( ६९ बल, ३ चौका र १ छक्का ) बनाए भने फखार जमान र बबार आजमले आउट हुनु अघि क्रमश: २४ र ३३ रन बनाए। हंगकंगको लागि दुवै विकेट एहसान खानले लिए।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बि’ को खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन्। यस्तै मंगलबार भारत र हंगकंग बीच समुह ‘ए’ को खेल हुनेछ। बुधबार समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानले तथा बिहिबार समुह ‘बि’ अन्तर्गत बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ।

मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयोजक टोलिसंग पराजित भएपनि बाँकिका खेलमा आफ्नो पक्षमा नतिजा निकाल्दै हंगकंगले एसिया कपमा स्थान बनाएको हो। छनौट प्रतियोगितामा हंगकंगले युएई, नेपाल, र सिंगापुरलाई पराजित गर्दै पाकिस्तान र भारतसंगको भेट पक्का गरेको हो।

( फोटोहरु – एसीसी , आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy