आफ्नो खेलाडी प्रतिबन्धमा परेपछि काठमाडौँ गोल्डेन्सद्वारा डिपीएल बहिस्कार

२०७५ फाल्गुन १०, शुक्रबार १२:२२

  • विकेटनेपाल, फाल्गुन-१० शुक्रबार 

धनगढी प्रिमियर लिगको टिम काठमाडौँ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसंगको दोश्रो क्वालिफायर खेल बहिस्कार गर्दै प्रतियोगिता नखेल्ने भएको छ।

गोल्डेन्स टिमको महत्वपूर्ण खेलाडी अंकित दबासलाई बलिंग याक्सन अबैध ठहर गर्दै बिहिबार डिपीएलको टेक्निकल कमिटिले बलिंग गर्न प्रतिबन्ध गरेपछि गोल्डेन्सले उक्त निर्णयको बिरोध गर्दै नखेल्ने घोषणा गरेको हो।

गोल्डेन्स टिमका ब्यबस्थापक संजय श्रेष्ठले विकेटनेपालसंग कुरा गर्दै नखेल्ने कुराको पुस्टि गरेका हुन्। टेक्निकल कमिटिले दबासको बलिंग बारे ढिला मात्र खबर गरेको र प्रतियोगितामा आफ्नो टिम बिरुद्ध बिभिन्न निर्णयहरु भएको भन्दै यस्तो निर्णय गर्नु परेको श्रेष्ठले बताएका छन्।

“दबास भारतको प्रतिष्ठित रन्जी र अन्य उमेर समुहको प्रतियोगिता खेलीसकेका स्तरीय खेलाडी हुन। यो स्तरको खेलाडीलाई बलिंग गर्न प्रतिबन्ध लगाउने कुरा हामिलाई चित्त बुझेन। यो कुरा थियो भने हामीलाई पहिलो खेल देखि जानकारी हुनु पर्थ्यो ”

“५-६ वटा खेल प्रतियोगिताको खेल्दासम्म हामिलाई खबर छैन। एक्कासी लिग सकिएपछि हामीलाई उनि प्रतिबन्ध परेको मेल आयो। मिडियामा पठाईसकेपछि हामिलाई बल्ल सल्लाह गर्न बोलाईयो जुन गलत हो। हाम्रो टिम बिरुद्ध मात्रै टेक्निकल कुरामा पेलिएको छ र प्रतियोगितामा पनि हाम्रो टिम बिरुद्ध गलत निर्णयहरु अन-फिल्डमा पनि गरिएका छन्”

“आईसीसीको नियम अनुसार जाने हो भने मैदानको आउटफिल्ड लगायत ड्रेस, हेल्मेट जस्तो कुरा त्यो स्तरको छैन जसमा हामीले गुनासो नगरी खेलेका छौँ”

“अन्तिम समयमा आएर हामीलाई दबाब दिने र प्रतिबन्ध लगाउने कुरा भएको छ जुन कुरा हामीलाई चित्त बुझेको छैन” श्रेष्ठले विकेटनेपाललाई बताए।

काठमाडौँ गोल्डेन्सको यो निर्णय पछि डिपीएल आयोजक र टेक्निकल कमिटिले अधिकारिक धारणा दिएको छैन।

Ankit Dabas

प्रतियोगिताको पहिलो क्वालीफायरमा सीवाईसी अत्तरियासंग पराजित भए पछि काठमाडौँ गोल्डेन्सले फाइनल प्रवेशको लागि महेन्द्रनगर युनाईटेडसंग आज १२:३० बजे खेल्ने तालिका रहेको थियो। काठमाडौँ टिम खेल सुरु हुनु अघि मैदान पुगेको छैन जसकारण अब प्रतियोगिताको फाइनलमा महेन्द्रनगर पुग्ने निश्चित भएको छ। डिपीएलको फाइनल भोलि शनिबार खेलिनेछ।

प्रतियोगितामा काठमाडौँको लागि महत्वपूर्ण प्रदर्शन गर्ने क्रममा दबासले ५ खेलमा ६ विकेट लिईसकेका थिए भने अत्यन्त किफायती बलिंग समेत गरेका थिए। ५ खेलमा कुल २० ओभर बलिंग गरेका उनले ३.८५ प्रतिओभर रन खर्चेका थिए। यस क्रममा उनले सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडसंगको खेलमा २/२ विकेट लिएका थिए।

काठमाडौँ गोल्डेन्सले खेलेको २ वटा खेलमा मैदानमा रहेका अम्पायरहरुले उनको एक्सन संकास्पद पाएका थिए। संकास्पद बलिंग एक्सन पाईएपछि डिपीएलको टेक्निकल कमिटीले उनको बलिंगको भिडियो एनालाइसिस गरेका थिए जसमा उनको एक्सन अवैध रहेको पाईएको थियो।

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा हात १५ डिग्री भन्दा बढी बाङ्गो गर्न पाइदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ।

भारतको प्रतिष्ठित प्रतियोगिता रणजी ट्रफी प्रतियोगिताको अनुभव बोकेका दबासले झारखण्डको प्रतिनिधित्व गर्ने गर्छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy