निरज श्रेष्ठ उपचार सहयोगार्थ च्यारिटी खेलमा पारस ११ को जित ; दिपेन्द्रको अर्धशतक

२०७५ फाल्गुन २५, शनिबार १८:४९

Paras Khadka
  • विकेटनेपाल – २५ फाल्गुन, शनिवार

शनिवार मकवानपुर स्थित हेटौंडामा सम्पन्न च्यारिटी टि-२० खेलमा पारस ११ ले निरज ११ लाई २ विकेटले पराजित गरेको छ। ब्लड क्यान्सरबाट ग्रसित हेटौंडाका स्थानीय पूर्व खेलाडी निरज श्रेष्ठको उपचार सहयोगार्थ राष्ट्रिय टोलीका खेलाडी सम्मिलित पारस ११ र स्थानीय खेलाडी सम्मिलित निरज ११ बीच च्यारिटी खेल खेलिएको थियो।

स्थानीय हुप्राचौर मैदानमा टस जितेर ब्याटिंग गरेको निरज ११ ले निर्धारित २० ओभरमा १७१ रन जोडेको थियो। राम नरेश गिरीको कप्तानीमा रहेको निरज ११ लाई पारस खड्का कप्तानीको पारस ११ ले खेल सकिन २ बल बाँकी रहंदा २ विकेटले पराजित गर्यो। पारस ११ को जितमा दिपेन्द्रसिंह ऐरीले अविजित ६२ रन तथा सोमपाल कामीले २९ रन जोडे।

च्यारिटी खेल खेल्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी सहित ललित राजबंशी, अनिल कुमार साह, महबुब आलम, अमित श्रेष्ठ, आरिफ शेख, सन्दिप जोरा, अनिल मण्डल लगायतका खेलाडी हेटौंडा पुगेका थिए।

मकवानपुर जिल्ला क्रिकेट संघ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मकवानपुर क्रिकेट एकेडेमीको आयोजनामा संचालित च्यारिटी खेलमा पारस खड्का सहित अन्य खेलाडीले समेत निरज श्रेष्ठको उपचारार्थ रकम सहयोग गरेका थिए। पारसले नगद रु. २५ हजार व्यक्तिगत सहयोग गरे भने फुटवल खेलाडीहरु रंजन विस्ट र अन्जन विस्टले समेत नगद रु. १० हजार रुपैयाँ सहयोग गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy