सन्दिप अस्पताल भर्ना, अवस्था सामान्य

२०७७ मंसिर १५, सोमबार ०८:३१

Sandeep Lamichhane

कोरोना संक्रमण भएका क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन्।

घरमै सेल्फ आइसोलेसनमा बसीरहेका उनि थोरै कमजोरी महसुस भए पछि अस्पताल गएका हुन्। उनि ह्याम्स अस्पताल भर्ना भएका छन्।

“थोरै कमजोरी महसुस भए पछि सन्दिप केहि आतिए जसपछि अस्पताल लागिएको हो। घरमा बस्दा स्याहारसुसार राम्रो भएन। थोरै पनि जोखिम नमोल्ने सोचेर घरमा भन्दा अस्पतालमा बस्ने निर्णय गरेका हुन्।”  सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए।

शिवाकोटीको अनुसार सन्दिपको अवस्था सामान्य रहेको छ – “उनको अवस्था सामान्य छ।”

सन्दिपले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि २ पटक कोरोना परिक्षण गराएका थिए। उनको पहिलो रिपोर्ट नेगेटिभ आएता पनि स्टार हस्पिटलमा गराएको दोश्रो परीक्षणको रिपोर्ट भने शुक्रबार पोजेटिभ आएको थियो। त्यसपछि उनि सेल्फ आइसोलेसनमा बसीरहेका थिए। आइतबार सन्दिपले सामाजिक संजालमा पोस्ट गर्दै आइसोलेसनमा समय बिताउन कठिन भएको आसय दिने पोस्ट गरेका थिए।

सन्दिप डिसेम्बर दोश्रो साता बिग ब्यास लिग खेल्नको लागि अस्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ। त्यस अघि उनि नेपाली टिमको बन्द प्रशिक्षणमा केहि दिन सहभागी हुन लागेका थिए। उनलाई यो सिजन बिग ब्यासमा होबार्ट हरिकेन्सले टिममा लिएको छ।

सन्दिप सहित नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण टिममा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, दिपेन्द्र ऐरी र रोहित पौडेलमा कोरोना संक्रमण देखिएको थियो। मल्ल, ऐरी र पौडेल कोरोना मुक्त भएर आइतबार देखि अभ्यास थालीसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy