बिग ब्यास मेलबर्न डर्वी : वेब्स्टर र हार्वेले विस्फोटक साझेदारी गर्दा रेनिगेड्सद्वारा स्टार्स पराजित

२०७७ माघ ७, बुधबार २०:०२

अष्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत बुधबार सम्पन्न ४५ औं खेलमा एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्सले प्रतियोगितामा तेस्रो जित दर्ता गर्ने क्रममा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्समाथि ५ विकेटको रोमान्चक जित दर्ता गरेको छ। हारसंगै स्टार्सले पर्थ स्कर्चर्सलाई उछिन्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ।

जितसंगै रेनिगेड्स १२ खेलमा ३ जित र ९ हारसहित १३ अंक बटुल्दै अंकतालिकाको पुछारमा यथावत रहेको छ भने १२ खेलमा ५ जित र ६ हारपछि २४ अंक जोडेको स्टार्स आजको खेलमा ब्यास बुस्ट अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

अंकतालिकाको शिर्ष स्थानमा रहेको सिक्सरको ३२ अंक रहेको छ भने पर्थ स्कर्चर्स र स्टार्स समान २४ अंकसहित नेट रन रेटको आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सिड्नी थंडर र होबार्ट हरिकेन्स समान २३ अंकसहित नेट रन रेटको आधारमा क्रमशः चौथौं र पाचौं स्थानमा रहेका छन् भने २१ अंकसहित ब्रिसबेन छैटौं तथा २० अंक जोडेको एडिलेड स्ट्राइकर्स अंकतालिकाको सातौँ स्थानमा रहेका छन्|


मेलबर्न स्थित डोकल्याण्ड क्रिकेट स्टेडियममा सम्पन्न खेलमा १५९ रनको मध्यम लक्ष्य पछ्याएको रेनिगेड्सले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि मॅकेन्झी हार्वेले २१ बलमा ६ चौका र २ छक्काको मद्धतमा अविजित ४७ रन बनाए। साम हार्परले ३९ तथा  बिउं वेब्स्टरले अविजित २२ रनको योगदान दिए।

अन्तिम ४ ओभरमा रेनिगेड्सलाई जितका लागि ५२ रनको आवश्यकता रहेको थियो। हार्वेले एडाम जम्पाको १७ औं ओभरमा २ चौका हिर्काउँदै ११ रन बटुलेपछि रेनिगेड्सलाई अन्तिम ३ ओभरमा ४१ रनको खाँचो रह्यो। वेब्स्टर र हार्वेले लियाम हैचरको १८ औं ओभरमा ३ चौकासहित १६ रन बटुले।

त्यसपछि अन्तिम २ ओभरमा २५ रन खाँचो रहँदा न्याथन कुल्टर-नाइलको १९ औं ओभरमा २ छक्का र १ चौकासहित रेनिगेड्सले १९ रन बटुल्यो। अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा वेब्स्टरले हैचरको अन्तिम ओभरको चौथौं बलमा चौका हिर्काउँदै टिमलाई रोमान्चक जित दिलाए।


खराब सुरुवात गरेको रेनिगेड्सले ओपनरद्वय शन मार्श (१) र फिंचलाई (१०) १५ रनको योगफलमै गुमायो। त्यसपछि जेक फ्रेसर-मॅकगर्क र साम हार्परले तेस्रो विकेटको लागि ३३ रनको साझेदारी गर्दै रेनिगेड्सको इनिंग सम्हाले। अन्तिममा हार्वे र वेब्स्टरले ९७/५ को स्थितिबाट २५ बलमा ६३ रनको अविजित साझेदारी गर्दै रेनिगेड्सलाई रोमान्चक जित दिलाए।

स्टार्सको बलिंगतर्फ न्याथन कुल्टर-नाइलले (४-०-४१-३) सर्वाधिक ३ विकेट लिए। जाहिर खान र मार्कस स्टोइनिसले समान १ विकेट हात पारे।

यसअघि ब्याट फिलिप जितेर ब्याटिंगको निर्णय लिएको स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो। उसको लागि निक लार्किनले ४७ बलमा ८ चौका र १ छक्काको मद्धतमा अविजित ६१ रन बनाए। मार्कस स्टोइनिसले ३७, निक म्याडिनसनले २१ तथा आन्द्रे फ्लेचरले ११ रनको योगदान दिए।

आन्द्रे फ्लेचर १७ रनको योगफलमै आउट भएपछि स्टोइनिसले लार्किनसँग ४१ रनको साझेदारी गरे। त्यसपछि रेनिगेड्सले रनको गति कस्दै निरन्तर रुपमा विकेट लिन सफल रह्यो। अन्तिममा लार्किनले सेब गोचसँग (६) ४१ रनको साझेदारी गर्दै स्टार्सलाई मध्यम लक्ष्यतर्फ डोर्याए।

रेनिगेड्सको बलिंगमा पिटर हत्जोग्लू र ज्याक इभान्सले समान २ विकेट लिए। जोश ल्यालोर र इमाद वासिमले १ विकेट हात पारे।

यो पनि पढ्नुस : 

आईपीएल २०२१ : स्मिथलाई फुकुवा गर्दै स्यामसन राजस्थानको कप्तान, रैना चेन्नाईमै रहने

आईपीएल २०२१ : सन्दिपलाई दिल्लीले गर्यो रिलिज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy