लिटल फ्लावर प्रिमियर लिग-५ को खेल तालिका सार्वजनिक

२०७७ फाल्गुन १२, बुधबार २२:४८

धनगढीः फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको छ।

बुधबार आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो।

प्रकाशित खेल तालिका अनुसार देशभरबाट सहभागी १६ टिमलाई क्रम समूह ए, बी, सी र डी गरि ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारानगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा रहेका छन्।

त्यसै गरी समूह ‘सी’ मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रहेका छन् भने समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन्।

फागुन १५ देखि २९ गतेसम्म धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडीमाना क्षेत्रीले जानकारी दिए।

लिग चरणमा प्रत्येक टिमले ३÷३ खेल खेल्न पाउने छन्। उक्त खेलबाट समूह विजेता ४ वटा टिमले सेमिफाइनलमा स्थान पाउने उनले बताए। फागुन १५ बाट सुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेता पहिलो सेमिफाइनल तथा समूह ‘बी’ को विजेता र समूह ‘डी’ को विजेता दोस्रो सेमिफाइनल खेल खेल्ने छन्। फागुन २९ गते बिहान ११ बजे प्रतियोगिताको फाइनल खेल हुने छ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ। म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन्।

लिटल फ्लावर प्रिमियर लिग–५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy