EPL T20 : नेपाली खेलाडीहरुले २० प्रतिशत बढी रकम पाउने

२०७८ श्रावण ३२, सोमबार ००:००

Abinash Bohara

एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टीमा ( ईपीएल ) सहभागी ६ वटा फ़्रेन्चाइजले नेपाली खेलाडीहरुलाई अक्सनमा आवद्ध गरेको रकम भन्दा २० प्रतिशत बढी रकम दिने भएको छ।

ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिख ( असोज ९ देखि २३ ) सम्म आयोजना हुँदैछ जसमा ललितपुर पेट्रिएट्स सहित, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, काठमाडौँ किंग्स-११, पोखरा राइनोज, बिराटनगर वारियर्स गरि ६ वटा टिम सहभागी रहेका छन्। कोभिड-१९ का कारण खेलाडीहरुले खेल्ने अवसर नपाएको कारण आर्थिक सुरक्षा प्रदान गर्न फ़्रेन्चाइज् मालिकहरुले २० प्रतिशत बढी रकम खेलाडीहरुलाई उपलब्ध गराउने सहमति गरेका हुन्।


ईपीएलको अक्सन २०१७ अक्टोबरमा भएको थियो जसमा खेलाडीहरुलाई तिन सिजनको लागि अनुबन्धित गरिएको थियो। उक्त अक्सनमा खेलाडीहरुले अधिकतम १ लाख ७५ हजार देखि निम्नतम ५० हजार रुपैयाँ पाएका थिए। उक्त अक्सनमा आरिफ शेख, करन केसी, सन्दिप लामिछाने र बिनोद भण्डारीले सर्वाधिक १ लाख ७५ हजार रुपैयाँ पाएका थिए। यस्तै प्रदिप ऐरी र बसन्त रेग्मीले १ लाख ६० हजार मूल्य पाएका थिए।

२० प्रतिशत रकम बढे अनुसार १ लाख ७५ हजार पाएका खेलाडीहरुले ३५ हजार रुपैयाँ बढी अर्थात् २ लाख १० हजार रुपैयाँ पाउनेछन्। यस्तै ५० हजार रुपैयाँमा अनुबन्धित भएका खेलाडीहरुले १० हजार बढी अर्थात् ६० हजार रुपैयाँ पाउनेछन्। सन्दिप लामिछाने भने नयाँ सम्झौतामा काठमाण्डौ किंग्स-११ मा अनुबन्धित भएका छन् जसको अनुबन्ध रकम खुलेको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy