ईपीएल खेल्न नेपाल आइपुगे श्रीलंकन पूर्वकप्तान थारांगा

२०७८ आश्विन ५, मंगलवार १३:५६

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा र श्रीलंकन पूर्व क्रिकेटर धम्मिका प्रशाद नेपाल आइपुगेका छन्।

थारांगा र प्रशाद ईपीएलमा शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गर्दैछन्। नेपाल पुगेपछि थरांगाले आफ्नो फेसबुकमा न्यानो स्वागत पाएको पोस्ट गरेका छन्। यस्तै टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि मंगलबार बिहानै नेपाल पुगीसकेका छन्। सोमबार पोखरा राइनोजको प्रतिनिधित्व गरिरहेका वेस्टइन्डिज क्रिकेटर केसरिक् विलियम्स पनि नेपाल आइपुगीसकेका छन्। 

श्रीलंकाको लागि २००५ देखि २०१९ सम्म ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका ३६ वर्षीय थाराँगाले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। ३६ वर्षीय देब्रे हाते ब्याट्सम्यानले टेस्टमा ३ शतक मद्दतले १,७५४ रन, एकदिवसीयमा १५ शतक मद्दतले ६,९५१ रन तथा टि-२० मा ४०७ रन बनाएका छन्। उनि एकदिवसीयमा श्रीलंकाको आठौँ सर्वाधिक रनकर्ता हुन् भने पाँचौ सर्वाधिक शतक बनाउने ब्याट्सम्यान समेत हुन्।

यस्तै २०१५ मा अन्तिम पटक श्रीलंकाको लागि खेलेका दायाँ हाते फास्ट बलर ३८ वर्षीय धम्मिका प्रसादले देशको लागि २५ टेस्ट, २४ एकदिवसीय र १ टि-२० मा प्रतिनिधित्व गरेका थिए। त्यस क्रममा उनले टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिए। २००६ मा डेब्यु गरेका उनले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

भैरहवा ग्ल्याडीएटर्समा विदेशी खेलाडीको रुपमा बंगलादेशका स्टार क्रिकेटर तामिम इकबाल र मलेसियाका शर्भिन मुनिएन्डी रहेका छन्। टिममा नेपाली खेलाडीहरु कप्तान शरद भेसावकर पछि आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, अनिल खरेल, दुर्गेश गुप्ता र बिकाश आग्री रहेका छन्।

भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy