एक्लो दममा भाभसरले जिताए खेल, १ विकेटले कुवेत द्वारा नेपाल पराजित

२०७८ पुष १३, मंगलवार १८:५६

कुवेत सिनियर राष्ट्रिय क्रिकेटर समेत रहेका मित भाभसरले एक्लो दममा उत्कृस्ट ब्याटिंग गर्दा अन्डर-१९ एसिया कपमा कुवेतले नेपाललाई सनसनीपूर्ण खेलमा १ विकेटले पराजित गरेको छ। कुवेतसंग नेपाली यु-१९ टिम पराजित भएको यो पहिलो पटक हो।

युएईको दुबई स्थित आईसीसी क्रिकेट एकेडेमी ( २ ) मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ४८.५ ओभरमा ९ विकेट क्षेतीमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा कुवेतको सुरुवात उत्कृस्ट रहेको थियो। भाभसर र सल्दन्हाले १०९ रनको ओपनिंग साझेदारी गरे। अठारौं ओभरमा गुल्सन झाले सल्दन्हाको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। त्यसपछि एक किनारमा भाभसरले ब्याटिंग गरेता पनि अर्को किनारमा कुवेतले लगातार विकेट गुमायो। कुवेतले १७५ रन बनाउदा ७ विकेट गुमाउन पुग्यो।

त्यसपछि पनि भाभसरले एक किनार सम्हालीरहे। आठौँ विकेटको लागि उनले अब्दुल्लाह फारुखसंग ५३ रनको साझेदारी गरे। गुल्सन झाले ४८ औं ओभरमा लगातार फारुख र जिशान अजिमको विकेट लिंदै नेपाललाई खेलमा फर्काए। कुवेत २२९/९ को अवस्थामा पुग्यो जहाँबाट जितको लागि ११ रन आवस्यक थियो। जित्न २ ओभरमा ११ रन आवस्यक हुँदा भाभसरले बिबेक यादवले गरेको ४९ औं ओभरमा तिन चौका प्रहार गर्दै टिमलाई जित दिलाए।

भाभसरले अविजित १७५ रन बनाउने क्रममा १४९ बल सामना गर्दै २४ चौका र १ छक्का प्रहार गरे। जुड सल्दन्हाले २५ रन बनाउनु बाहेक अन्य कुवेत ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले अतिरिक्तको रुपमा २५ रन खर्चियो।

नेपालको बलिंगमा गुल्सन झाले ३ विकेट ( १०-१-७०-३ ) तथा शेर मल्ल ( १०-०-४८-२ ) , बसिर एहमद ( १०-१-२९-२ ) र बिबेक यादव ( ७.५-१-३३-२ ) समान दुई विकेट लिए पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा २३९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

नेपालको लागि बसिर एहमदले सर्वाधिक ५६ रन, बिबेक राना मगरले ५० रन आदील आलमले ४९ रन, शेर मल्लले २१ रन तथा दिपेश कंडेलले १५ रन योगदान दिए। २७ रनमा ३ विकेट गुमाएको अवस्थामा बिबेक र बसिरले ९२ रनको साझेदारी गरेका थिए। आठौँ विकेटको लागि आदील आलम र शेर मल्लले ६९ रन जोडे।

कुवेतको बलिंगमा मिर्हा एहमद र अब्दुल सदिकले समान तिन विकेट तथा हेनरी थोमस र मोहम्मद बस्ताकीले समान दुई विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपाल पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासंग क्रमशः १५४ र ६० रनले पराजित हुँदा सेमीफाइनल यात्रा बाट बाहिर भएको थियो। कुवेत पनि यस अघि नै दुई खेलमा हार बेहोर्दै बाहिर भैसकेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy