“बोर्डलाई निचो देखाउने काम गरेका छैनौँ” – ज्ञानेन्द्र मल्ल

२०७८ पुष २१, बुधबार १०:२१

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफु देशको लागि क्रिकेट खेल्न सँधै तयार भएको र क्यानलाई निचो देखाउने काम नगरेको बताएका छन् । टियु मैदान कीर्तिपुरमा मंगलबारदेखि प्रशिक्षण क्याम्पमा सहभागी भएका मल्लले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले आफुलाई जानकारी नदिई कप्तानबाट हटाउँदा भने दुःख लागेको पनि बताए।

उनले आफु कहिल्यै क्यान बोर्डको विरुद्धमा नलागेको बताए “बोर्डलाई निचो देखाउने काम गरेका छैनौँ । त्यस्तो गर्ने भए अरु बाटो अपनाउँथ्यौँ । सायद खेल्दैनथ्यौँ होला । यत्रो बर्ष केही नपाउँदा खेल्यौँ । अहिले त सम्मानजनक अवस्था छ । उही सेवा सुविधा बढाउनुपर्यो भनेका त हौँ” मल्लले भने।

“म सँधै कप्तान बन्छु भनेर क्रिकेटमा आएको होइन । तर मैले धेरै बर्ष क्रिकेटलाई दिएको छु । बिभिन्न कारण निकालेर हटाउँदा दुःख लागेको छ । जसरि यो मुद्दामा बिना कारण यस्तो गर्नुभयो, यसले मलाई ब्यक्तिगत रुपमा पनि गाह्रो भयो । कप्तानको हिसावले खेलाडीको समस्या सम्बोधन हुनुपर्यो भन्दा विभिन्न आरोप लगाईयो । आत्मसम्मानको कुराले गर्दा मलाई थप अप्ठ्यारो परेको थियो” मल्लले भने।

मल्लले खेलाडी वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए। उनले टिमका खेलाडीबीच कुनै पनि मनमुटाव नभएको भन्दै एक जुट भएर देशका लागि खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

“हामी बीच दुश्मनी छैन न बोर्डसंग छ। खेलाडीहरुसंग १०-१२ वर्ष देखि खेल्दै आएका छौँ , हामी बीच मनमुटाव छैन।”

क्यानको हालै बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्नानमा नियुक्त गरेको थियो । क्यानले मल्लसहित चार खेलाडीलाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय समेत गरेको थियो ।

आइतबार असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि मल्ललगायत खेलाडी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा जुटेका छन् । मंगलबारबाट प्रशिक्षक पुबुदु दसानायके र क्यान छनोट समितिले प्रारम्भिक छनोटमा बोलाएका सबै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy