एलपीएललाई डिस होमको साथ

२०७८ पुष २३, शुक्रबार १७:३१

धनगढी,२३ पुष / धनगढीमा अगामी माघ २२ गते बाट आयोजना हुने विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल ६ लाई डिस मिडिया नेटवर्क लिमिटेडले प्रायोजन गरेको छ ।

प्रतियोगितामा सहप्रायोजक रहने गरी डिस मिडिया नेटवर्क लिमिटेड का तर्फबाट शुक्रबार सेल्स अफिसर लक्ष्मीराज जोशी र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गत सिजनबाट नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको डिस होम नेटवर्क लिमिटेडले यस बर्ष पनि सहयोगलाई निरन्तरता दिएकोमा शाहीले हस्ताक्षर समारोह पछि धन्यवाद ज्ञापन गरे।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालयका टिमको सहभागिता रहने बताइएको छ। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ एभरेस्ट एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy