सन्दिप ‘क्रिक्इन्फो अवार्ड २०२१’ को मनोनयनमा, यस्ता छन् प्रतिस्पर्धी

२०७८ माघ १८, मंगलवार १४:०६

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने चर्चित क्रिकेट वेबसाइट ‘ईएसपीएन क्रिक्इन्फोको अवार्ड २०२१’ अन्तर्गत एसोसिएट राष्ट्रको वर्ष उत्कृस्ट बलिंग प्रदर्शन विधामा मनोनयनमा परेका छन्।

मनोनयनमा सन्दिपसंगै नामिबियाका तिन बलर जान फ्राईलिंक, जेजे स्मित र रुबेन ट्रंपलम्यान तथा नाइजेरियाका पिटर एहो परेका छन्। अवार्डको अन्य विधामा भने नेपाली खेलाडी मनोनयनमा छैनन्।

ईएसपीएन क्रिक्इन्फोले पूर्व क्रिकेटर, कमेन्टेटर तथा लेखकहरुको स्वतन्त्र निर्णायक मण्डल बनाएको छ जसले विजेता चयन गर्नेछ। निर्णायक मण्डलमा पूर्व क्रिकेटरहरु अजित अगरकर, रसेल आर्नोल्ड, इयाम बिसप, डेरेन गङ्गा, टम मुडी, ड्यानियल भिटोरि पनि रहेका छन्।

लेग स्पिनर सन्दिपले गत वर्ष सेप्टेम्बरमा पपुवा न्यु गिनी बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शानदार बलिंग प्रदर्शन गरेका थिए। उनले ५.१ ओभरमा मात्र ११ रन खर्चेर ६ विकेट लिंदै नेपालको १५१ रनको जितमा अहम योगदान दिएका थिए। उक्त स्पेल सन्दिपको करियरकै उत्कृस्ट तथा नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा समेत उत्कृस्ट स्पेल हो भने वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोत्कृष्ट स्पेल समेत हो। सोहि स्पेलका कारण गत वर्ष सेप्टेम्बरमा सन्दिप आईसीसीको ‘प्लेयर अफ द मन्थ’ समेत घोषित हुँदै पहिलो नेपाली क्रिकेटरको रुपमा इतिहाँस रचेका थिए।

सन्दिप बाहेक अन्य खेलाडीले २०२१ मा एकै खेलमा ६ विकेट लिन सकेनन्। सन्दिपको यो स्पेल ( ५.१-०-११-६ ) एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै चौधौं सर्वोत्कृष्ट स्पेल समेत हो।

गत वर्ष ६ खेलको ५ इनिंग्समा १८ विकेट लिंदै सन्दिप एकदिवसीय अन्तर्राष्ट्रियमा बंगलादेशका मुस्तफिजुर रहमानसंगै तेश्रो सर्वाधिक विकेटकर्ता समेत रहे। सन्दिप भन्दा बढी श्रीलंकाका दुश्मन्था चमिरा ( २० विकेट ) र आयरल्याण्डका सिमि सिंह ( १९ विकेट ) रहे।

एसोसिएट राष्ट्रको वर्ष उत्कृस्ट बलिंग प्रदर्शन विधामा रहेका नामिबियाका मिडियम पेसर जान फ्राईलिंकले गत वर्ष युएई बिरुद्ध टि-ट्वान्टीमा ६ विकेट ( ४-०-२४-६ ) लिएका थिए। उनले सन्दिपलाई कडा टक्कर दिनेछन्। नामिबियाका मिडियम पेसर रुबेन रुबेन ट्रंपलम्यानले टि-२० विश्वकपमा स्कटल्याण्ड बिरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए। नामिबियाकै अर्का मिडियम पेसर जेजे समितले विश्वकप लिग-२ अन्तर्गत ओमान बिरुद्ध खेलमा २६ रन खर्चेर ५ विकेट लिएका थिए। नाइजेरियाका पेसर पिटर एहोले सिरिया लियोन बिरुद्ध टि-२० मा मात्र ५ रन खर्चेर ६ विकेट लिएका थिए जुन टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै उत्कृस्ट स्पेल ( ३.४-१-५-६ ) हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy