पाँच नेपाली युवा क्रिकेटरले भारतमा उच्चस्तरीय प्रशिक्षण लिने

२०७८ फाल्गुन २७, शुक्रबार ११:०३

नेपाल क्रिकेट संघ ( क्यान ) ले पाँच जना नेपाली युवा क्रिकेटरहरुलाई खेलाडी विकास कार्यक्रम अन्तर्गत दुई हफ्ता भारत अभ्यासमा पठाउने भएको छ।

राष्ट्रिय क्रिकेटरहरु लोकेश बम, गुल्सन झा र कुशल मल्ल सहित अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल सहित यु-१९ राष्ट्रिय क्रिकेटर आदील आलम आज राति भारतको बैंगलोर प्रस्थान गर्नेछन्। आज दिउँसो लखनउ हुँदै फ्लाइटमा उनीहरु बैंगलोर पुग्नेछन्।

भारतको बैंगलोर स्थित जस्ट क्रिकेट एकेडेमीमा उनीहरुले दुई साता उच्चस्तरीय अभ्यास गर्नेछन्। उक्त एकेडेमीमा भारतीय क्रिकेट बोर्डबाट मान्यता प्राप्त मैदान, इन्डोर, बलिंग, ब्याटिंग र फिटनेस सुविधा रहेको छ।

अपूर्व देसाई

जस्ट क्रिकेट एकेडेमी सन् २०१८ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ब्याटिंग कन्सल्टेन्टको रुपमा आएका अपूर्व देसाईले संचालन गर्दै आएका छन्। एसिया कप छनोट प्रतियोगिता अघि उनि नेपाल आएका थिए। ४७ वर्षय देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त प्रशिक्षक हुन्। देसाईले आईपीएल टिम कोलकाता नाइट राइडर्समा ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । उनले बैंगलोर स्थित भारतको नेशनल क्रिकेट एकेडेमीमा १० वर्ष ब्याटिंग प्रशिक्षकको काम गरेका थिए।

आक्रामक ब्याट्सम्यानको परिचय बनाएका लोकेश बमले भर्खरै सम्पन्न ओमान भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेता पनि प्रदर्शन खास रहन सकेको थिएन। यस्तै गत वर्ष राष्ट्रिय टिमको लागि डेब्यु गरेका गुल्सन झाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सकेका छैनन्। यस्तै अर्का आक्रामक देब्रे हाते ब्याट्सम्यान कुशल मल्ल पछिल्लो समय खराब लयमा छन्। यस्तै कलात्मक ब्याटिंगले पछिल्लो समय मन जितेका देव खनाल तथा विस्फोटक ब्याटिंग गर्न सक्ने आदील आलमले पनि बैंगलोरमा क्षमता अझ निखार्ने विश्वास गरिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy