सन्दिपको ऐतिहासिक कीर्तिमान, विश्वकै दोश्रो छिटो ५० विकेट पुरा

२०७८ चैत्र १२, शनिबार १५:००

नेपाल र पपुवा न्यु गिनी बिचको २ एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारि अन्तिम तथा निर्णायक खेलमा नेपाली कप्तान सन्दिप लामिछानेले नयाँ कीर्तिमान रचेका छन् । सन्दिप ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

खेलको १३ औं ओभरमा ३० बलमा ३५ रन बनाएका चार्ल्स अमिनीलाई एल्बी डब्ल्यु धरापमा पार्दै सन्दिपले नयाँ कीर्तिमान बनाएका हुन् । विकेटसँगै सन्दिप एकदिवसीय फर्म्याटमा दोश्रो छिटो ५० विकेट लिने खेलाडी बनेका छन् । २१ एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिएका उनले भारतीय खेलाडी अजित अगरकर तथा न्युजिल्यान्डका मिचेल म्याक्लानेघनलाई पछि पारेका हुन् । दुवैले २३ खेलमा ५० एकदिवसीय विकेट लिएका थिए ।

श्रीलंकाली स्पिनर अजन्था मेन्डिसले १९ खेलमा ५० एकदिवसीय विकेट लिँदै एकदिवसीय फर्म्याटमा छिटो ५० विकेट लिने कीर्तिमान रचेका थिए । यस्तै, अष्ट्रेलियाका डेनिस लिल्ले र पाकिस्तानका हसन अलिले २४ खेलमा ५० एकदिवसीय विकेट लिएका थिए ।

जारि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाउँदै पपुवा न्यु गिनिलाई सिरिज जितका लागि २७९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । यसअघि शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा पपुवा न्यु गिनीले ६ विकेटको जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy