टि-२० विश्वकप : श्रीलंकाको उत्कृस्ट पुनरागमन, मैयेप्पाको ह्याट्रिक बाबजुद युएई सहजै पराजित

२०७९ कार्तिक १, मंगलवार १७:२०

पहिलो खेलमा नामिबियासंग पराजित भएपछि दोश्रो खेलमा युएईलाई ७९ रनले सहजै पराजित गदै श्रीलंकाले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपमा पहिलो जित दर्ता गरेको छ। यस अघि नेदरल्याण्डसंग पराजित युएईको भने दोश्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

भिक्टोरियाको साईमन्डस स्टेडियममा १५३ रनको लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ७३ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रम मा ३० रनमा ५ विकेट गुमाएपछि लगातार श्रीलंका खेलमा हावी रह्यो। आयन खानले १९, जुनैद सिद्दिकीले १८ तथा चिराग सुरीले १४ रन योगदान दिए।

श्रीलंकाको बलिंगमा वानिन्दु हसरंगा र दुश्मन्था चमिराले ३/३ विकेट लिए। हसरंगाले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए भने चमिराले ३.५ ओभरमा १५ रन खर्चिए। महेश तिक्षनाले २ तथा प्रमोद मधुशन र दासुन शनाकाले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो।

श्रीलंकन ओपनर पथुम निसंकाले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ६० बलमा ६ चौका र २ छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले ३३ तथा कुसल मेन्डिसले १८ रन बनाए। निसंका अन्तिम ओभरमा जहुर खानबाट आउट भए।


युएई बलर कार्तिक मैयेप्पाले ह्याट्रिक सहित ३ विकेट लिए। उनले पन्ध्रौँ ओभरमा भानुका राजापक्षलाई क्याच आउट, छरित असलंकालाई विकेटपछि क्याचआउट तथा दासुन शनाकालाई बोल्ड गर्दै युएईको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै पहिलो ह्याट्रिक पुरा गरे। जहुर खानले २ विकेट तथा आयन खान र आर्यन लक्राले १/१ विकेट लिए।

श्रीलंकाले पहिलो चरणको अन्तिम खेलमा बिहिबार नेदरल्याण्डको सामना गर्नेछ। नेदरल्याण्डले खेलेको दुवै खेलमा जित दर्ता गरेको छ।

आज सम्पन्न समुह ‘ए’ अन्तर्गतको अर्को खेलमा नेदरल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy