Nepal T20 : शीर्ष स्थानमा रहँदै लुम्बिनी क्वालिफायरमा प्रवेश

२०७९ पुष २०, बुधबार १३:२१

नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार जित निकालेको छ।

यसअघि नै प्लेअफमा पुगो लुम्बिनीले बुधबार काठमाडौँ नाइट्सलाई १०२ रन निकाल्दै आठौँ खेलमा विजयी भएको छ ।

जितसँगै लुम्बिनीको शीर्ष दुई स्थान पक्का भएको छ भने क्वालिफायरमा प्रवेश गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोड्यो।

उसका लागि हरमित सिंहले ३६ बलमा २ चौका र ८ छक्काको मद्दतमा ७० रन जोडे। लाहिरु मिलान्थाले २६ रन र गुल्शन झाले २१ रनको योगदान गरे।

बलिङमा काठमाडौँका अभिनास बोहराले ३ विकेट र बासिर अहमेदले २ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.४ ओभरमा ८१ रनमै अलआउट भयो।

उसका लागि बासिरले २२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले १५–१५ रन जोडे। कमलसिंह ऐरीले १६ रन बटुले।

बलिङमा लुम्बिनीका कुशल भुर्तेल, ईशान पाण्डे र ह्यारी टेक्टरले २–२ विकेट लिए।

अङ्क तालिकामा ९ खेलबाट १६ अङ्क जोड्दै शीर्ष स्थानमा छ भने काठमाडौँ ८ खेलबाट ८ अङ्क जोड्दै तेस्रो स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy