यु-१९ राष्ट्रिय टिमको कप्तानी गुल्सनले गर्ने

२०७९ माघ १८, बुधबार १५:२९

Gulsan Jha

फेब्रुअरीमा युएईमा आयोजना हुने अन्डर-१९ विश्वकप एसिया छनोट गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रूपमा छनोट गरेको हो ।

क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस गरेको थियो । गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् ।

गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।

तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २४ तारिखमा सिंगापुरसंग खेल्नेछ। दोश्रो खेल फेब्रुअरी २५ मा कुवेतसंग, तेश्रो खेलमा फेब्रुअरी २७ मा हंगकंगसंग, चौंथो खेल फेब्रुअरी २८ तारिखमा मलेसियासंग तथा पाँचौ खेल मार्च २ तारिखमा युएईसंग खेल्ने तालिका छ। खेलहरु अजमान स्थित मलेक ग्राउण्ड र इडन गार्डेनमा खेलिनेछ।

प्रतियोगितामा सहभागी सबै टिमले एक अर्का विरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकाको शिर्षमा हुने एक टिम यु-१९ विश्वकप खेल्न छनोट हुनेछ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

घोषित टिम : आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy