क्यानले विश्वकपमा छनोट भएको युवा टिमलाई जनही एक लाख रुपैयाँ दिने

२०७९ फाल्गुन १८, बिहीबार २१:२१

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी यू-१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई)माथि सात रनको विजय हासिल गर्दै श्रीलङ्कामा हुने २०२४ को आइसिसी यू-१९ विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल आठौँ पटक यू-१९ विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आइसिसी यू-१९ विश्वकप खेलिसकेको छ ।

‘‘सङ्घले नेपाली युवा टिमले हासिल गरेको सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ,’’ क्यानले भनेको छ, ‘‘हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोबल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’’

युएईको अजमानस्थित इडेन गार्डेनमाकप्तान देव खनालले ५१ रन बनाएपछि टस हारेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy