ECA T20 : सन्तोष चम्किँदा सौराहा स्याण्डर विजयी

२०७९ फाल्गुन २०, शनिबार २०:२४

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको सौराहा स्याण्डरले हानामी वारियर्स माथि १ विकेटको रोमान्चक जित दर्ता गर्दै लगातार दोश्रो खेल जितेको छ।

टिकौली खेल मैदान टस जितेर सौराहा स्याण्डरले हानामी वारियर्सलाई ब्याटिङको निम्तो दिएको थियो। हानामी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२६ रन जोड्यो। हानामी वारियर्सका कप्तान आकाश थापाले १७ तथा अर्को ओपनर ज्ञान राज न्यौपानेले १४ रन प्रहार गरे। मिडल अडर ब्याटर उत्सव श्रेष्ठले २७ बलमा ३५ रन प्रहार गरे। साथै कैलाश पंगेनीले १४ बलमा १८ रन जोडे। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।

सौराहा स्याण्डरका कप्तान सन्तोष न्यौपानेले ४ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए। राज पाण्डे ,रिजन ढकाल , बिमल चालिसे र सौगात ढकालले सम्मान एक- एक विकेट लिए।

१२७ रनको सामान्य लक्ष्य लिएर मैदान आएको सौराहा स्याण्डरका कप्तान सन्तोष न्यौपानेले समालेर ब्याटिङ गर्दा सौराहा स्याण्डरले १९.३ ओभरमा लक्ष्य भेटायो। सौराहा स्याण्डरका कप्तान सन्तोषले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७५ रन प्रहार गरे। अन्तिम ९ बलमा ६ रन आवश्यक रहेको स्थितिमा हानामीका श्याम मन्डेलले लगातार २ विकेट लिग्दा सौराहा स्याण्डर दबाबमा परेको थियो। सौराहालाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो भने हानामीलाई एक विकेटको आवश्यकता थियो। अन्तिम ओभरको पहिलो बलमा अनुज चनारालाई सन्तोषले चौका प्रहार गरेका थिए। त्सपछि दोस्रो बल डट हुदा तेस्रो बलमा छक्का प्रहार गर्दै सन्तोषले सौराहालाई प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने महत्त्वपूर्ण भूमिका खेले।

हानामीका आकाश थापाले ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए। श्याम मन्डेलले २ ओभरमा १० रन खर्चिएर २ विकेट लिए।

खेलको म्यान अफ द म्याच अल-राउन्डर प्रदर्शन गरेका सौराहाका सन्तोष न्यौपाने भए। सौराहाले ३ खेलमा २ जित दर्ता गरेको छ भने हानामीले २ खेलमा १मा जित र १मा हार बेहोरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy