नेपाल एसीसी यु-१६ ईस्ट जोन कपको फाइनलमा

२०८० असार १८, सोमबार २०:४५

Nepal U16 Cricket Team

सिंगापुरलाई ९८ रनले पराजित गर्दै नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

जितसँगै नेपालले मङ्गलवार हुने फाइनल खेलमा मलेसियासंगको भेट पक्का गरेको छ । पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मङ्गलवार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।

मलेसियाको बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलव ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो।

सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए ।

सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतीक पोखरेल र अशोक धामीले समान १-१ विकेट लिए ।

Kritik Kamat ( Player of the Match )
Kritik Kamat ( Player of the Match )

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालका ओपनर सुर्यांशु कोइरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए ।

सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । निरजले भने ४९ बलमा ३ चौकाको सहयोगमा ४२ रन बनाए ।

पहिलो विकेट गुमाए पछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । विकेटकिपर आशिष् लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट ३ रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।

कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ तथा प्रतीक भट्टराई १२ रनमा आउट भए । दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए ।

सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २/२ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy