“अपेक्षा अनुरुप खेल्न सकेनौ” – रोहित

२०८० श्रावण १, सोमबार २१:३३

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कपमा लगातार दोश्रो हार बेहोर्दै पहिलो चरणबाट बाहिरिएपछि नेपालका कप्तान रोहित पौडेलले टिमले अपेक्षा अनुरुप खेल्न नसकेको बताएका छन्।

प्रतियोगिता अन्तर्गत पाकिस्तान ए संग पहिलो खेल तथा आज दोश्रो खेलमा भारत ए संग हार पछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। भारत र पाकिस्तान सेमीफाइनल पुगेका छन् भने नेपालसंगै युएई पनि बाहिरिएको छ।

खेल पछि कुराकानी गर्ने क्रममा रोहितले माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो गर्न नसकेको बताए-

“हाम्रो ब्याटिंगको कुरा गर्दा हाम्रो टप अर्डरले राम्रो ब्याटिंग गर्न सकेनन्। हामिले ३-४ विकेट गएपछि पनि प्रयास गर्यौं, म र सोमपाल तथा सोम र गुल्सन बीच साझेदारी भयो। २४०/२५० रन बनाउन सकेको भए राम्रो योगफल हुने थियो।”

उनले टिमले अपेक्षा अनुरुप खेल्न नसकेता पनि एक्सपोजर पाएको बताए –

“हामीले विश्वकप छनोट र यो प्रतियोगितामा हामीले अपेक्षा अनुरुप खेल्न सकेनौं तर एस्पोजर भने पाएका छौँ। हामि प्रत्येक दिन सुधारिदिन गैरहेका छौँ।”

उनले टस जितेर ब्याटिंग रोज्ने निर्णय बारे प्रश्न सोध्दा आफुले योजना अनुसारनै त्यो निर्णय लिएको बताए। उनले भारतीय ओपनर साई सुदर्शन र अभिषेक शर्माको तारिफ गरे जसले १३९ रनको ओपनिंग साझेदारी गरे।

“क्रेडिट उनीहरुलाई जान्छ, दुवै ओपनरले निकै राम्रो ब्याटिंग गरे।”

बुधबार युएईसंग प्रतियोगिताको अन्तिम खेलमा जितको साथ घर फर्कने चाहना उनले व्यक्त गरे –

“हामि सबै अन्तिम खेल जित्न चाहन्छौँ र जितको साथ् घर फर्कन चाहन्छौं”

खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य भारतले मात्र १ विकेट गुमाएर २२.१ ओभरमै पुरा गर्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy