विश्वकप क्रिकेट : नेदरल्याण्डसंग दक्षिण अफ्रीका स्तब्ध

२०८० आश्विन ३०, मंगलवार २३:१८

दक्षिण अफ्रीकालाई ३८ रनले पराजित गर्दै नेदरल्याण्डले भारतमा जारि एकदिवसीय विश्वकपमा जितको खाता खोलेको छ। अघिल्लो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको नेदरल्याण्डले तेश्रो खेलमा शानदार लयमा रहेको दक्षिण अफ्रीकालाई स्तब्ध पार्यो। दक्षिण अफ्रीकाले अघिल्लो दुई खेलमा श्रीलंका र अस्ट्रेलियालाई पराजित गरेको थियो।

हिमान्चल प्रदेश शिती धरमशाला मैदानमा सम्पन्न खेलमा नेदरल्याण्डले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ४२.५ ओभरमा २०७ रनमा सबै विकेट गुमायो।

दक्षिण अफ्रीकाको लागि डेभिड मिलरले सर्वाधिक ४३ तथा केशव महाराजले ४० रन योगदान दिए भने हेनरिच क्लासेनले २८, जेराल्ड कोत्जेले २२, क्विन्टन डीककले २० तथा तेम्बा बभुमाले १६ रन बनाए। दशौँ विकेटको लागि केशव महाराज र लुंगी एनगीडीले ४१ रनको साझेदारी गरेता पनि जित दिलाउन सकेनन्।

नेदरल्याण्डको बलिंगमा लोगान भान विकले ३ तथा पल भान मिकीरन, रोल्फ भान डर मर्वे र बास डी लिडेले २/२ विकेट लिए।

वर्षाका कारण ४३ ओभरमा छोट्याईएको खेलमा टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४५ रन बनायो।

११२ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गर्न आएका कप्तान स्कट एड्वार्ड्सले अविजित अर्धशतक बनाउदै नेदरल्याण्डलाई राम्रो योगफल तर्फ डोर्याए। एड्वार्ड्सले ६९ बलमा १० चौका र १ छक्का मद्दतले ७८ रन बनाए। उनले आठौँ विकेटको लागि रोल्फ भान डर मर्वेसंग ६४ रनको तथा नवौं विकेटको लागि आर्यन दत्तसंग अविजित ४१ रनको साझेदारी गरे। मर्वेले २९ तथा दत्तले अविजित २३ रन बनाए। दत्तले ९ बलमा ३ छक्का प्रहार गरे। यस अघि तेजा निदमनुरुले २०, साईब्राण्ड एन्जेलब्रेचले १९ तथा म्याक्स ओ डोडले १८ रन बनाएका थिए।

दक्षिण अफ्रीकाको बलिंगमा लुंगी एनगीडी, मार्को जान्सेन र कागीसो रबाडाले २/२ तथा जेराल्ड कोत्जे र केशव महाराजले १/१ विकेट लिए।

https://youtu.be/mL9dH15YN_w?si=ReIQrdzPU7ye3HXr

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy