जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

२०८० कार्तिक ४, शनिबार १५:३३

जापानलाई हराउँदै नेपाली युवा टोली एसीसी यु-१९ एसिया कपमा छनोट भएको छ।

मलेशियामा जारी एसीसी यु-१९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा जापानलाई १४३ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ। वर्षाका कारण केहीबेर खेल रोकिएपछि डीएलएस बिधिका आधारमा पाएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमै समेटिएको छ।

जापानका लागि शोतारो हिरात्सुकाले १५ र यामामोतो लाकेले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन तथा सुवाष भण्डारीले दुई र आकाश चन्दले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि दीपक बोहराले ७९, आकाश त्रिपाठीले ३५, अर्जुन कुमालले १० र देव खनालले आठ रन बनाएका थिए।

त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो। ५० ओभरको खेल २५ ओभरमा झारिएको थियो। डीएलएस बिधिका आधारमा जापानले १८७ रनको लक्ष्य पाएको थियो।

यो जितसँगै यु-१९ एसिया कपका लागि छनोट भएको छ। आउँदा पुसमा पाकिस्तानमा हुने एसिया कपमा प्रियिमर कपबाट तीन टोली छनोट हुनेछन्। फाइनलमा पुग्ने दुई टोलीसँगै सेमिफाइनलमा पराजित दुई टोलीबीचको खेलमा जित्ने टोली पनि एसिया कपमा छनोट हुनेछ।

नेपाल प्रिमियर कपको फाइलनमा पुग्दै एसिया कपका लागि छनोट भएको छ। यसअघि आयोजक पाकिस्तानसँगै भारत, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छनोट भइसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy