काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाल ए ले जितका लागि २ सय २५ रनको लक्ष्य पाएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनायो ।
आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय ईनिङ खेले । पिटर मोरले २६ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले ।
ओपनर जेम्स म्याकुलमले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । गारेथ डिलेनीले ८ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए । आयरल्यान्डले अन्तिम ओभरमा २५ रन बनाएको थियो ।
नेपालका लागि सागर ढकालले ३ र पवन सर्राफ र कमलसिंह ऐरीले समान १/१ विकेट लिए ।
शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वल्भ्ससँग नेपाल ए २१ रनले पराजित भएको थियो । आजको खेलमा जित हात पारेर नेपाल सिरिज बराबरी गर्न चाहन्छ । उता, आईरिस टोली यस खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्न चाहन्छ ।
नेपाल र आयरल्यान्ड वल्भ्सबीचको तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुनेछ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।