नामिबियालाई हराउँदै अस्ट्रेलिया सुपर एटमा

२०८१ जेष्ठ ३०, बुधबार ०८:३१

काठमाडौं । अस्ट्रेलिया वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको २४ औं खेलमा नामिबियालाई पराजित गर्दै सुपर एटमा प्रवेश गरेको छ ।

वेस्ट इन्डिजको एन्टिगुवामा भएको खेलमा अस्ट्रेलिया ९ विकेटको फराकिलो अन्तरले विजयी भयो ।

नामिबियाले दिएको ७३ रनको लक्ष्य अस्ट्रेलियाले ५ दशमलब ४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले १७ बलमा अविजित ३४ तथा डेबिड वार्नरले ८ बलमा २० रन बनाए ।

नामिबियाका लागि डेबिड विजेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया १७ औं ओभरको अन्तिम बलमा ७२ रन बनाउँदै अल आउट भएको थियो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ४३ बलमा ३६ तथा ओपनर मिचेल भान लिगेनले १० बलमा १० रन बनाए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार तथा मार्कस स्टाइनेस र जस हेजलवुडले समान दुई दुई विकेट लिए ।

पहिलो र दोस्रो खेलमा ओमान र इंग्ल्यान्डलाई हराउँदै सुखद सुरुआत गरेको अस्ट्रेलिया नामिबियालाई पराजित गरी सुपर एटमा स्थान पक्का गरेको छ । तीन खेलमा शतप्रतिशत जितका साथ अस्ट्रेलियाले सुपर एटमा स्थान बनाएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy