नेदरल्यान्ड्समाथि बंगलादेशको जित, नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब

२०८१ असार १, शुक्रबार ०८:५८

काठमाडौं । बंगलादेशले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेश २५ रनले विजयी भएको हो ।

बंगलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेथले २२ बलमा ३३ तथा विक्रम जित सिंहले १६ बलमा २६ रन बनाए ।

बंगलादेशका लागि रिसद हसनले तीन तथा तस्किन अहमदले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

बंगलादेशका लागि सकिब अल हसनले ४६ बलमा ९ चौकाको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । तन्जिम हसनले २६ बलमा ३५ रन बनाए । महमदुल्लाहले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

नेदरल्यान्ड्सका लागि पल भान मिकरन र आर्यन दत्तले समान दुई दुई तथा टिम प्रिगेलले एक विकेट लिए ।

तीन खेलमा चार अंक जोडेको बंगलादेश समूह डी को दोस्रो स्थानमा छ । तीन खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका यस समूहबाट सुपर आठमा प्रवेश गरिसकेको छ । सुपर आठमा पुग्ने दोस्रो टोलीका रुपमा नेदरल्यान्ड्स, बंगलादेश र नेपालको सम्भावना रहेको छ ।

नेपाललाई सुपर आठमा पुग्न बाँकी दुवै खेलमा स्पष्ट जितको आवश्यकता छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy