काठमाडौं – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा श्रीलंकाका कप्तानलाई पछि पारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै ४३औं स्थानमा उक्लिएका छन् । श्रीलंकाका टेस्ट टोलीका कप्तान धनन्जय डि शिल्भा ५४औं स्थानमा रहेका छन् ।
अलराउन्डर तर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औं स्थानमा उक्लिएका छन् ।
आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत रहेका छन् । करणले ४ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दै ८०औं स्थानमा रहेका छन् ।
नेपाली टिम भने १ स्थान तल झर्दै १७औं नम्बरमा पुगेको छ ।
क्यानडाले वरियतामा ४ स्थान सुधार गरेको छ ।
