यु-१९ एसियाकपमा नेपाल श्रीलंकासंग पराजित

युएईमा आज सुरु भएको १९ वर्ष मुनिको एसिया कपमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

शुक्रबार दुबईमा भएको खेलमा २३४ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि मयन यादवले अर्धसतकसहित ६२ रन बनाए जुन क्रममा ९१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए। श्रीलंकाको बलिंगमा प्रविन मनिशाले सर्वाधिक ३ विकेट तथा न्युटन रन्जिथकुमार, कुगादस र विहास थ्युमिकाले २/२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सन्तोष यादवले ४ विकेट लिए जुन क्रममा १० ओभरमा ४५ रन खर्चिए। यस्तै लेग स्पिनर युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १/१ विकेट लिए।

यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ जुन समुहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग आइतबार ( डिसेम्बर १ ) खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान, युएई र जापान रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy