यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो। यो जितसँगै ३-० को नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्वीप’ गरेको हो।

यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराएको थियो।

अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्नुहुँदा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९.१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो।

नेपालविरुद्ध हङकङका चार जना बलरले समान दुईदुई विकेट हात पारे। २६६ रनको लक्ष्य पछ्याएको हङकङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहाेरो अङ्कमा रन जोड्न सकेनन्। पूरै ५० ओभर खेल्दै हङकङ १३५ रनमा समेटिएको हो।

नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुईदुई विकेट लिनुहुँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एकएक विकेट हात पार्नुभयो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy