बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

२०८१ चैत्र १३, बिहीबार १७:४८

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित भएकाे छ।

भैरहवामा बिहीवार सम्पन्न खेलमा बागमतीले मधेशसँग ४ विकेटको हार बेहोरेको हाे। हारका बाबजुद नेट रनरेटमा बागमतीले चौथो स्थानमा रहेर प्रतियोगिता सकाएको छ।

बागमतीले दिएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे। प्लेयर अफ द म्याच भएका अनिलले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे। रुपेश सिंहले २५ रन जोडे।

रोहन विकले ३९, हरिशंकर साह ३३, पवन सरार्फ ३१, शैलेन्द्र साह १६ तथा दिपेश दास १९ रन जोड्दै आउट भए। बागमतीका लागि सुर्य तामाङले २ तथा रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो।

बागमतीका लागि ओपनर इशानले सर्वाधिक ११४ रनको शतकीय इनिङ खेलेका थिए। उनले पीएम कपको इतिहासमा पहिलो शतक पूरा गरेका हुन्। पहिलो शतक इशानले ११८ बलमा पूरा गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy