एनपीएल सिजन २ फ्लडलाइटमा खेलाइने

२०८२ कार्तिक २६, मंगलवार १०:१३

पालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो ।

एनपीएल २ एक सातापछि सुरु हुँदैछ । आज क्यानले एनपीएलको खेल तालीका सार्वजनिक गर्‍यो । तालिका अनुसार हरेक दिन दुई खेल हुनेछन्, जसमा एउटा खेल बेलुकीलाई राखिएको छ । पहिलो खेल ११:४५ मा र दोस्रो ४ बजे सुरु हुने तालीका छ ।

अहिले साढे ५ बजेदेखि नै अँध्यारो हुने भएकाले दोस्रो म्याचका लागि फ्लडलाइट आवश्यक पर्छ । यस्तै, प्रतियोगिताका दुई क्वालिफायर, इलिमिनेटर र ग्रान्ड फाइनल पनि ४ बजे नै राखिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

९ खेल मात्रै फ्लड लाइटबिना हुनेछ । फ्लड लाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुने तालिका छ । फ्लड लाइटबिनाको खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

त्रिवि मैदानमा फ्लडलाइट राख्ने काम सकिएको छैन । अहिलेसम्म ४ वटा फ्लडलाइट जडान भइसकेको र बाँकी पनि ४-५ दिनभित्र जडान भइसक्ने प्रतिबद्धता प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

एनपीएलको खेल तालिका सार्वजनिक

मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ ।

लिग चरणमा शीर्ष दुईमा रहने टोलीले २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । लिग चरणमा तेस्रो र चौथो भएका टोलीबिच २४ गते एलिमिनेटर हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy