बागमती प्रदेश छनोटमा आदील खानले हिर्काए दोहोरो शतक

२०७७ पुष १६, बिहीबार १९:४६

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका ब्याट्सम्यान आदील खानले दोहोरो शतक बनाएका छन्।

काठमाडौँमा सुरु भएको छनोट प्रतियोगिता अन्तर्गत टियु मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले त्रिभुवन युनिभर्सिटीलाई २९१ रनको फराकिलो अन्तरले पराजित गर्यो।

खेलमा ललितपुरले दिएको ३७६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा त्रिभुवन युनिभर्सिटीले २९.४ ओभरमा ८४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

युनिभर्सिटीको लागि राष्ट्रिय क्रिकेटर पृथु बास्कोटाले ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बास्कोटाले ४८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ललितपुरको बलिंगमा सुमित झाले ४ तथा योनेश थापा र तिलक राज भण्डारीले समान २ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग गरेको ललितपुरले निर्धारित ४० ओभरमा ४ विकेट गुमाएर ३७५ रन बनाएको थियो।

आदील खान ( फाइल फोटो )

ललितपुररको लागि ओपनिंग ब्याटिंग गरेका अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहीसकेका देब्रे हाते ब्याट्सम्यान आदील खानले मात्र १२१ बलमा १६ चौका र १५ छक्का प्रहार गर्दै २०१ रनको अचम्मित पार्ने पारि खेले। आदीलले सन् २०१२ मा नेपाली यु-१६ टिमको लागि खेलेका थिए। यस्तै २०१६ मा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा उनले श्रीलंका बिरुद्ध ३९ रन बनाएका थिए। २०१७ मा यु-१९ टिम राष्ट्रिय टिमको लागि खेलीसकेपछि आदील बिभिन्न घरेलु प्रतियोगिताहरुमा सहभागी हुँदै आएता पनि राष्ट्रिय टिममा भए स्थान बनाउन असफल रहँदै आएका छन्।

बागमती प्रदेश स्तरीय खेलमा कुनै ब्याट्सम्यानले दोहोरो शतक बनाएको यो पहिलो पटक हो। नेपाली घरेलु क्रिकेटमा दोहोरो शतक बनाउने अर्का खेलाडी मेहबुब आलम पनि हुन् जसले सन् २००३ को एक छनोट प्रतियोगितामा ४० ओभरको खेलमा सप्तरीको लागि खेल्दै उदयपुर बिरुद्ध २५६ रन बनाएका थिए। सिराहाको पशुपति स्कुल मैदानमा देब्रे हाते ब्याट्सम्यान आलमले १२३ बलमा १८ छक्का र २६ चौका प्रहार गरेका थिए।

ललितपुरका अर्का ओपनर आशुतोष घिरैयाले ५८ बलमा १२ चौका र ३ छक्का मद्दतले ८३ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका दुर्गेश थापाले ५३ रन बनाए।

आदील र आशुतोषले पहिलो विकेटको लागि १७४ रनको साझेदारी गरेका थिए। आशुतोषको विकेट पछि आदीलले दोश्रो विकेटको लागि दुर्गेशसंग १५८ रनको साझेदारी गर्दै टिमको योगफल ३ सय पार गराएका थिए।

त्रिभुवन युनिभर्सिटीको बलिंगमा अभ्यास घर्ति मगर र आयुष बनियाले समान १ विकेट लिए।

काठमाडौँद्वारा भक्तपुर पराजित, इशान पाण्डे उत्कृस्ट 

बिहिबारनै मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा काठमाडौँले भक्तपुरलाई ४ विकेटले पराजित गर्यो। भक्तपुरले दिएको ९८ रनको लक्ष्य काठमाडौंले ६ विकेट गुमाएर २३.५ ओभरमा भेटायो।

काठमाण्डौको ब्याटिंगमा जितेन्द्र सिंह ठकुरीले ३८, रबिन जोशीले २७ तथा बिभत्सु थापाले १६ रन बनाए। भक्तपुरका बलर सुबास खत्रीले ४ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको भक्तपुरले ३३.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। भक्तपुरको लागि अदित सुबेदीले ३६ तथा क्रिस कार्कीले २७ रन बनाए।

काठमाडौँको बलिंगमा राष्ट्रिय क्रिकेटर इशान पाण्डेले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ७.४ ओभरमा २८ रन खर्चिए। यस्तै सुमन उदयले ३ तथा सन्जम रेग्मी र कौशल रुपाखेतीले समान १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy