आजकै दिन २०१८ अगस्ट ३ तारिखमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो। सोहि वर्ष मार्चमा जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आठौँ स्थान हाँसिल गरेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो।
नेदरल्याण्डसंग दुई वटा एक दिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोश्रो खेलमा १ रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो। खेलमा नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २१५ रन बनाउन सकेको थियो।
सनसनीपूर्ण अन्त्य – लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले ९ विकेट १८५ रनको योगफलमा गुमाएको थियो। तर, पल भान मिकिरन र फ्रेड क्लासेनले विकेट नदिंदा खेल रोमान्चक बनेको थियो। अन्तिम ५ ओभरमा जितको लागि २४ रन आवस्यक हुँदा ४६ औं ओभरमा बसन्त रेग्मीले मात्र २ रन खर्चिएका थिए। त्यसपछि ४७ औं ओभरमा सोमपाल कामि र ४८ औं ओभरमा ललित भण्डारीले समान ७ रन खर्चिए। अन्तिम २ ओभरमा ९ रन आवस्यक रह्यो जति बेला ४९ औं ओभर बलिंग गरेका दिपेन्द्र ऐरीले मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा ६ बलमा ६ रन आवस्यक हुँदा बलिंग गरेका कप्तान पारस खड्काले पहिलो ५ बलमा ४ रन खर्चिए जसपछि जित्न २ रन आवस्यक रह्यो। अन्तिम बलमा क्लासेनले प्रहार गरेको सट सिधा स्टम्पमा गएर लागेपछि पारस खड्काले ब्याट्सम्यानलाई रन आउट गर्दा नेपालले १ रनको ऐतिहासिक जित दर्ता गरेको थियो।
Somebody up there wants Nepal to be happy today.#NEDvNEP pic.twitter.com/pgGAwnRUyL
— Bertus de Jong (@BdJcricket) August 3, 2018
नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए भने ललित भण्डारीले २ विकेट तथा सोमपाल कामि, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र ऐरीले समान १ विकेट लिएका थिए।
सोमपालको शानदार इनिंग्स – खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१६ रन बनएको थियो। नेपालको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका सोमपाल कामिले सर्वाधिक ६१ रन तथा पारस खड्काले ५१ रन बनाए। अर्धशतक पुरा गरेपछि पारस आउट हुँदा नेपाल १३५/६ को नाजुक अवस्थामा थियो। त्यतिबेला क्रिजमा आएका सोमपाल कामिले आरिफ शेखसंग २३ रनको तथा सन्दिप लामिछानेसंग ४१ रनको महत्वपूर्ण साझेदारी गर्दै योगफल २ सय पार गरेका थिए। सोमपालनै खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगेका थिए। खेलको स्कोरकार्ड हेर्नुस
