पाकिस्तानका चर्चित देब्रे हाते पेसर मोहम्मद आमिर अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न तयार भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड ( पीसीबि ) का प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) वासिम खान २९ वर्षीय खेलाडीको घरमै पुगेर आमिरसंग कुराकानी गरेपछि आमिरले मनसाय परिवर्तन गरेका हुन्। सीईओ खान पाकिस्तान सुपर लिगको दोश्रो लेग सुरु हुनु अघि आमिरको घरमै पुगेर उनिसंग कुराकानी गरेका थिए।
आमिरले अचानक गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिंदै सबैलाई आश्चर्यमा परेका थिए। उनले पाकिस्तान टिम व्यवस्थापन तथा प्रमुख प्रशिक्षक मिस्बाह उल हकलाई थुप्रै आरोप लगाएका थिए। यस्तै आमिरले आफूलाई मानसिक रुपमा टिम व्यवस्थापनले यातना दिएको समेत आरोप लगाउदै सोहि कारणले देशको लागि खेल्ने इच्छा मरेको बताएका थिए। सो क्रममा उनले यदी वर्तमान टिम व्यवस्थापन परिवर्तन भएको खण्डमा पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने समेत बताएका थिए।
Fast bowler Mohammad Amir is available for Pakistan selection as Wasim Khan the chief executive officer visited his home before 2nd leg of PSL-6. pic.twitter.com/YaniEr69Xm
— Shoaib Jatt (@Shoaib_Jatt) June 14, 2021
पीसीबि सीईओ खानले भर्खरै एक अन्तर्वार्तामा आमिर टिमको लागि मूल्यवान खेलाडी भएको त्यसैले उनि र टिम व्यवस्थापनसंगको समस्याहरु समाधान गर्न प्रयास गरिरहेको बताएका थिए।
“मैले उनलाई उनले रोजेको बाटो सिनियर खेलाडीको रुपमा गलत भएको स्पस्ट बताएको थिए। आमिर अझै मूल्यवान खेलाडी हुन् र हामि उनि र टिम व्यवस्थापन बीचको समस्या समाधान गर्न प्रयास गर्नेछौँ।”
मोहम्मद आमिरले लगाएका थिए मानसिक यातनाको आरोप
सन् २०१० को इंग्ल्यान्ड भ्रमणमा म्याच फिक्सिंगमा आरोपित पाइएका आमिरले ५ वर्षको प्रतिबन्ध पछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका थिए। त्यसपछि पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा छाप छोड्न सफल आमिरले गत वर्ष डिसेम्बरमा सन्यास घोषणा गर्ने क्रममा मोहम्मद आमिरले पाकिस्तान टिम व्यवस्थापनलाई बिभिन्न आरोप लगाएका थिए।
“म क्रिकेट छोड्दै छु किनकि मलाई मानसिक यातना दिईएको छ। मलाई लाग्दैन म यस्तो तनाव सहन सक्छु। मैले २०१० देखि २०१५ सम्म धेरै यातना भोगेको छु। म माथि धेरै लगानी भएको भन्दै मलाई बोर्डले यातना दिने गर्छ। म मात्र यो भन्छु मात्र दुई व्यक्ति नजम सेठी ( पूर्व पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष ) र शाहिद अफ्रिदी ( पूर्व पाकिस्तान कप्तान ) ले मेरो लागि धेरै लगानी गरेका छन्।”
“उनीहरु मात्र दुई जना थिए। बाँकी टिम भन्दै थिए ‘हामि आमिरसंग खेल्न चाहन्नौ। मलाई देशको लागि खेल्न नचाहने क्रिकेटर भन्दै बारम्बार घोचपेच गरिदै आएको छ। कसले आफ्नो देशको लागि खेल्न चाहदैन ? प्रत्येक २ महिनामा कोहि मेरो बिरुद्धमा केहि बोल्छ। कहिले बलिंग कोच ( वकार युनिस ) ले आमिरले धोखा दियो भन्छन्, कहिले मलाई मेरो कार्यभार सन्तोषजनक नभएको भनिन्छ। यो अत्ति भयो।”
सन् २००९ मा पाकिस्तानको लागि डेब्यु गरेपछि आमिरले २००९ को टि-२० विश्वकप फाइनलमा श्रीलंका बिरुद्ध प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका तिलकरत्ने दिलशानको महत्वपूर्ण विकेट लिंदै अहम भूमिका निभाएका थिए। त्यसपछि उनले बक्सिंग डे टेस्टमा ५ विकेट लिएका थिए जसलाई निरन्तरता दिंदै उनले अस्ट्रेलिया बिरुद्ध ७ विकेट लिंदा पाकिस्तानले १५ वर्ष पछि अस्ट्रेलिया बिरुद्ध टेस्ट जितेको थियो। इंग्ल्यान्ड बिरुद्ध लर्ड्समा लिएको ५ विकेट उनि स्पट फिक्सिंगमा आरोपित हुनु अघिको महत्वपूर्ण प्रदर्शन रहेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा कम्ब्याक पछि उनले २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा रोहित शर्मा, बिराट कोहली र शिखर धवनको विकेट लिंदै पाकिस्तानलाई १८० रनको विशाल जित दिलाएका थिए। सेतो बल क्रिकेटमा इन स्विंग र आउट स्विंग बलिंग गर्ने क्षमताका कारण आमिर विश्वभर टि-२० क्रिकेट लिगहरुमा पहिलो रोजाईको बलर बन्ने गरेका छन्।
