अन्तर्राष्ट्रिय क्रिकेटबाट मोहम्मद आमिरको सन्यास, पिसीबिले मानसिक यातना दिएको आरोप

२०७७ पुष २, बिहीबार १८:५६

पाकिस्तान क्रिकेट टिमका फास्ट बलर महम्मद आमिरले अचम्मित पार्ने निर्णय लिंदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। गत वर्ष टेस्ट क्रिकेटबाट सन्यास लिईसकेका आमिर विदेशी लिगहरुमा भने खेलीरहनेछन् तर पाकिस्तान टिमको लागि भने खेल्नेछैनन्।

पछिल्लो वर्ष विश्वकप पछि आमिरले टेस्ट क्रिकेटबाट विदा लिएका थिए। गत वर्ष अक्टोबरमा आमिरले अन्तिम पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसबाहेक आमिरले यो वर्ष अगस्टमा इंग्ल्यान्ड भ्रमण अन्तर्गत अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले जारि गरेको प्रेस विज्ञप्तिमा बोर्डका सीईओ वासिम खानले बताए अनुसार “२८ वर्षीय आमिरसंग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने कुनै चाहना बाँकी छैन।”

“यो आमिरको व्यक्तिगत निर्णय हो जसलाई पाकिस्तान क्रिकेट बोर्डले सम्मान गर्छ र यो अवस्थामा यो बारेमा बोर्डले कुनै प्रतिक्रिया दिने छैन।”


श्रीलंकामा भर्खरै सम्पन्न लंका प्रिमियर लिगमा आमिरले राम्रो प्रदर्शन गरेका थिए। ३० टेस्ट, ६१ वानडे र ५० टि-२० अन्तर्राष्ट्रिय खेलेका आमिरले कुल २५९ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाम गरेका छन्।

सन्यासको कारण यस्तो 

आमिरले सन्यास लिने कारण उनको पाकिस्तान क्रिकेट बोर्डसंगको सम्बन्ध खराब हुनु रहेको छ। उनले एउटा पाकिस्तानी टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनला ई पाकिस्तान क्रिकेट बोर्डले “मानसिक यातना” दिएको बताएका थिए। यस्तै उनलाई व्यवस्थापनले जानीजानी पाखा लगाउन खोजेको पनि उनले आरोप लगाएका थिए।

“म क्रिकेट छोड्दै छु किनकि मलाई मानसिक यातना दिईएको छ। मलाई लाग्दैन म यस्तो तनाव सहन सक्छु। मैले २०१० देखि २०१५ सम्म धेरै यातना भोगेको छु। म माथि धेरै लगानी भएको भन्दै मलाई बोर्डले यातना दिने गर्छ। म मात्र यो भन्छु मात्र दुई व्यक्ति नजम सेठी ( पूर्व पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष ) र शाहिद अफ्रिदी ( पूर्व पाकिस्तान कप्तान ) ले मेरो लागि धेरै लगानी गरेका छन्।”

“उनीहरु मात्र दुई जना थिए। बाँकी टिम भन्दै थिए ‘हामि आमिरसंग खेल्न चाहन्नौ। मलाई देशको लागि खेल्न नचाहने क्रिकेटर भन्दै बारम्बार घोचपेच गरिदै आएको छ। कसले आफ्नो देशको लागि खेल्न चाहदैन ? प्रत्येक २ महिनामा कोहि मेरो बिरुद्धमा केहि बोल्छ। कहिले बलिंग कोच ( वकार युनिस ) ले आमिरले धोखा दियो भन्छन्, कहिले मलाई मेरो कार्यभार सन्तोषजनक नभएको भनिन्छ। यो अत्ति भयो।”

लामो समय देखि आमिर र बोर्ड बीचको तनाबले ठूलो रुप लिएको हो। गत वर्ष टेस्ट क्रिकेटबाट सन्यास लिएपछि आमिरलाई पाकिस्तान बोर्डले आफ्नो केन्द्रीय अनुबन्धबाट हटाएको थियो। यस्तै गत महिना पाकिस्तानको ३५ सदस्यीय टिममा समेत उनलाई समाबेश गरिएको थिएन।

उक्त टिम घोषणा भएपछि आमिरले ट्वीटरमा प्रशिक्षक मिस्बाहले मात्रै त्यसको स्पष्टीकरण दिन सक्ने बताएका थिए।

सन् २००९ मा पाकिस्तानको लागि डेब्यु गरेपछि आमिरले २००९ को टि-२० विश्वकप फाइनलमा श्रीलंका बिरुद्ध प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका तिलकरत्ने दिलशानको महत्वपूर्ण विकेट लिंदै अहम भूमिका निभाएका थिए। त्यसपछि उनले बक्सिंग डे टेस्टमा ५ विकेट लिएका थिए जसलाई निरन्तरता दिंदै उनले अस्ट्रेलिया बिरुद्ध ७ विकेट लिंदा पाकिस्तानले १५ वर्ष पछि अस्ट्रेलिया बिरुद्ध टेस्ट जितेको थियो। इंग्ल्यान्ड बिरुद्ध लर्ड्समा लिएको ५ विकेट उनि स्पट फिक्सिंगमा आरोपित हुनु अघिको महत्वपूर्ण प्रदर्शन रहेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा कम्ब्याक पछि उनले २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा रोहित शर्मा, बिराट कोहली र शिखर धवनको विकेट लिंदै पाकिस्तानलाई १८० रनको विशाल जित दिलाएका थिए। सेतो बल क्रिकेटमा इन स्विंग र आउट स्विंग बलिंग गर्ने क्षमताका कारण आमिर विश्वभर टि-२० क्रिकेट लिगहरुमा पहिलो रोजाईको बलर बन्ने गरेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy