आरिफको करियरकै उच्च प्रदर्शन, पीएनजी बिरुद्ध नेपालको कीर्तिमानी जित ( अंकतालिका सहित )

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा आज सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको चौंथो तथा अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। यो जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा विकेटको आधारमा दोश्रो तथा बल बाँकी रहेको आधारमा तेश्रो ठूलो जित हो। पपुवा न्यु गिनी बिरुद्ध पनि यो नेपालको सबैभन्दा ठूलो अन्तरको जित हो।

स्कोरकार्ड, अंकतालिका 

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय योगदान दिए। शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए । ओपनर आसिफ शेख २ रनमा तथा दिपेन्द्र ऐरी खाता नखोली आउट भए।  प्लेयर अफ द म्याच समेत चुनिएका आरिफको अन्तर्राष्ट्रिय करियरकै यो पहिलो अर्धशतक हो।

ज्ञानेन्द्र मल्ल अन्तिम एघारमा नहुँदा तेश्रो नम्बरमा ब्याटिंग गरेका आरिफले दोश्रो विकेटको लागि कुशल भुर्तेलसंग ८७ रनको तथा चौंथो विकेटको लागि रोहित पौडेलसंग ७७ रनको साझेदारी गरे। आरिफ र रोहित बीचको ७७ रनको साझेदारी नेपालको चौंथो विकेटको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी हो। यस अघि चौंथो विकेटको लागि उच्च साझेदारी सुबास खकुरेल र दिपेन्द्र ऐरी बीचको ५८ रनको साझेदारी थियो।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी ( १०-१-३७-२ )  र सन्दीप लामिछानेले ( १०-०-२९-२ ) समान २ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

सिरिज अन्तर्गत नेपालले पपुवा न्यु गिनी बिरुद्ध दुवै खेलमा जित दर्ता गर्यो भने युएईसंगको दुवै खेलमा पराजित भयो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy