- विकेटनेपाल, असार – १९
जिम्बाबेमा जारि अस्ट्रेलिया, पाकिस्तान र जिम्बाबे बीच त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज अस्ट्रेलियाले जिम्बाबेलाई १०० रनले पराजित गर्ने क्रममा कंगारु कप्तान आरोन फिन्चले बिश्व कीर्तिमानी इनिंग खेलेका छन्।
सिरिज अन्तर्गत हरारेमा सम्पन्न तेश्रो खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २२९ रनको बिशाल स्कोर तयार गरेको थियो। यस क्रममा ओपनिङ्ग ब्याटिंग गरेका फिन्चले टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक व्यक्तिगत योगफल बनाएर नयाँ बिश्वकृतिमान आफ्नो नाम गरेका छन्।
फिन्च २० औं ओभरको चौथों बलमा दुर्लभ हिट-विकेट आउट भएका थिए जस अघि हुनले मात्र ७६ बलमा १६ चौका र १० छक्का मदतले १७२ रन बनाईसकेका थिए। यस अघि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने रेकर्ड अरु कसैको नाममा थिएन, फिन्चलेनै सन् २०१३ मा इंग्ल्याण्डसंग १५६ रन ( ६३ बल, ११ चौका र १४ छक्का ) प्रहार गरेका थिए जुन रेकर्डलाई आफैले उछिनेका हुन्।
टि-२० मा धेरै व्यक्तिगत रन बनाउने सुचीमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेल ( १४५* ) तेश्रो स्थानमा वेस्ट इन्डिजका इर्भिन लुइस ( १२५* ) चौथों स्थानमा तथा अस्ट्रेलियाकै शेन वाटशन ( १२४* ) पाँचौ स्थानमा रहेका छन्। न्युजिल्याण्डका ब्रेण्डन म्याकलम ( १२३ ) छैठौं, हंगकंगका बाबर हायात ( १२२ ) सातौँ, दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस ( ११९ ) आठौँ, अफगानिस्तानका मोहम्मद शहजाद ( ११८* ) नवौं तथा भारतका रोहित शर्मा ( ११८ ) दशौँ स्थानमा रहेका छन्।
नयाँ बिश्व रेकर्ड कायम गर्ने क्रममा फिन्चले ओपनर डार्सी शर्टसंग पहिलो विकेटको लागि २२३ रनको बिशाल साझेदारी गरेका थिए, जुन टि-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठुलो ओपनिङ्ग साझेदारी हो।
१७२ रनको इनिंग खेलेका फिन्च क्रिस गेलले आईपीएलमा बनाएको १७५ रनको रेकर्ड पुरा गर्न भने मात्र ३ रनले असफल रहे। गेलको १७५ रन समग्र टि-२० मा बनेको सर्वाधिक व्यक्तिगत रन हो।
फिन्चले प्रहार गरेको १६ चौका पनि एकै इनिंगमा टि-२० अन्तर्राष्ट्रियमा प्रहार गरिएको सर्वाधिक चौका हो। कुल ७६ बल खेलेका फिन्चले टि-२० अन्तर्राष्ट्रियको एकै इनिंगमा सबैभन्दा बढी बल खेल्ने किर्तिमान समेत आफ्नो नाम गरेका छन्।
फिन्चको कीर्तिमानी इनिंग र शर्टको ४६ रनको मदतले अस्ट्रेलियाले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले १२९ रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले खेल १०० रनले जित्यो। १०० रनको जित टि-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको सबैभन्दा ठुलो रन अन्तरको जित हो। उसले सन् २००६ मा दक्षिण अफ्रीकालाई ९५ रनले तथा पाकिस्तानलाई २०१२ मा ९४ रनले पराजित गरेको थियो।
( रेकर्ड श्रोत – क्रिक्इन्फो )