एमएम कप : आसामलाई पराजित गर्दै पुलिस फाइनलमा

२०८२ बैशाख १८, बिहीबार १४:३२

विभागीय टोलि नेपाल पुलिस क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो। पुलिस समुह ‘बि’ को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समुह ‘ए’ को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल प्रवेश गरिसकेको छ।

उपाधिको लागि शनिवार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। खेल विहान ९ बजे सुरु हुनेछ।

बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ६ विकेटको जित दर्ता गर्यो।

अघिल्लो खेलमा कोशी प्रदेशसंग पराजित भएको पुलिसले फाइनल पुग्न आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो। पुलिसले २६. १ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्यो।

पुलिसको ब्याटिंगमा अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए। अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए। यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए।

४३ रनमा ४ विकेट गुमाएको अवस्थामा अमित र शंकरले पाँचौ विकेटको लागि अविजित ११७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

आसामको बलिंगमा गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए। चिरन्तन खात्तिनियरले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको आसामले ४२. २ ओभरमा १५४ रनमा सबै विकेट गुमायो।

आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन योगदान दिए। यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन बनाए।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले ३/३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन खर्चिए। बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १/१ विकेट लिए।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy