आसिफको कीर्तिमानी पारिका बाबजुद नेपाल १९६ मै सिमित, बिलालको घातक बलिंग

२०७८ भाद्र २९, मंगलवार १९:४८

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले  आफ्नो दोश्रो खेलमा आयोजक ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ।

अल अमिरात मैदानमा टस जितेर ब्याटिंग रोजेको नेपालले ४७.४ ओभरमा १९६ रनमा सम्पूर्ण विकेट गुमाएर ओमानलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको लागि ओपनर आसिफ शेखले व्यक्तिगत पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा सर्वाधिक ९० रन बनाए जुन क्रममा उनले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। आसिफको स्कोर एकदिवसीय अन्तर्राष्ट्रियमा पारस खड्काको ११५ रन पछि दोश्रो व्यक्तिगत सर्वाधिक स्कोर हो। यस्तै ओपनरको रुपमा यो नेपाली ब्याट्सम्यानको सर्वाधिक स्कोर समेत हो। कुशल भुर्तेलले अघिल्लो खेलमा ८४ रन बनाएका थिए जुन कीर्तिमान आसिफले तोडेका हुन्।

आसिफ बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने ठूलो स्कोर बनाउन सकेनन्। ज्ञानेन्द्र मल्ल र करन केसीले समान २१, रोहित पौडेलले २० तथा सन्दिप लामिछानेले १६ रन बनाए। सोमपाल कामि ७, बिनोद भण्डारी ६, कुशल मल्ल ४ तथा कुशल भुर्तेल खाता नखोली आउट भए।

ओपनर कुशल भुर्तेल इनिंग्सको दोश्रो बलमै खाता नखोली बिलाल खानबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि आसिफले ज्ञानेन्द्र मल्लसंग ५८ रनको साझेदारी गरे। मल्ल १२ औं ओभरमा मोहम्मद नदीमबाट क्याच आउट भए। त्यसपछि आसिफले रोहित पौडेलसंग ४२ रन जोडे। २३ औं ओभरमा रोहितलाई नेस्टोर धाम्बाले क्याच आउट गराए। त्यसपछि आसिफले एक किनार सम्हालेता पनि नेपालले अर्को किनारमा लगातार विकेट गुमाउन पुग्यो। ठूलो सट खेल्ने प्रयास गर्दा बिनोद भण्डारीलाई धाम्बाले लंग अनअनमा क्याच आउट गराए। त्यसपछि सोमपाल कामि रन आउट हुन पुगे। लगत्तै कुशल मल्ललाई बिलाल खानले बोल्ड गरे। ३६ औं ओभरमा आसिफलाई बिलाल खानले बोल्ड गरे। सोहि ओभरमा बिक्रम सोब पनि बिलालबाट बोल्ड भए। फलस्वरुप १००२/२ को अवस्थाबाट नेपाल १५६/८ को अवस्थामा पुग्यो।

दशौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप लामिछानेले १ छक्का र १ चौका मद्दतले १६ रन बनाउदै नेपालको योगफल बढाए। सन्दिप रन आउट भएपछि करन केसीले अन्तिम विकेटको लागि सुशन भारिसंग २३ रनको साझेदारी गरे।

ओमानको बलिंगमा देब्रे हाते फास्ट बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ४७ रन खर्चिए। नेस्टर धाम्बाले २ विकेट ( ५-०-२५-२ ) तथा जिशान मक्सुद ( ८.४-१-३२-१ ) र मोहम्मद नदीम ( ७-०-२६-१ ) ले समान १ विकेट लिए।

खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले अमेरिकासंग पछिल्लो खेलकै अन्तिम-११ मैदानमा उतारेको छ। शरद भेसावकर सहित पवन सर्राफ, अविनाश बोहरा, आरिफ शेख र गुल्सन झाले अन्तिम-११ मा मौका पाउन सकेनन्।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। लिग-२ अन्तर्गत नेपालले ओमानसंग यस अघि खेलिएको दुवै खेलमा हार बेहोरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy