आसिफको करियरकै उच्च स्कोर, मलेसिया बिरुद्ध नेपालको सहज जित

आसिफ शेखले करियरकै उच्च स्कोर बनाउदा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले जारि त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई १५ रनले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमै ४ विकेट क्षेतीमा भेटायो। स्कोरकार्ड 

नेपालको जितमा प्लेयर अफ द म्याच चुनिएका आसिफ शेखले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो आसिफको दोश्रो अर्धशतक हो भने व्यक्तिगत उच्च स्कोर हो। दिपेन्द्र सिंह ऐरीले २१, खेलमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका दिलिप नाथले अविजित १५ तथा रोहित पौडेलले १२ रन बनाए। मलेसियाका बलर पवनदिप सिंहले २ तथा मुहम्मद आमिर र सयद अजिजले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ११४ रन मात्र बनाउन सक्यो। उसको लागि ओपनर जुबैदी जुल्किफलले सर्वाधिक ३२, एहमद फैजले २४, मुहम्मद आमिरले १६ तथा सयद अजिजले १४ रन बनाए।

नेपालको बलिंगमा करन केसी ( ३-०-१६-२ ) र कप्तान सन्दिप लामिछानेले ( ४-०-२७-२ ) समान २ विकेट तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा बिहिबार पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्नेछ। खेल जितेको खण्डमा नेपाल एक खेल बाँकी रहँदै फाइनल प्रवेश गर्नेछ। पपुवा न्यु गिनीले दुवै खेलमा हार बेहोरीसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy