यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित

बर्दिबास, भदौ १४ गते । यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गरेका हुन् । मनरासिसवा नगरपालिका ८ स्थित सहराम कप्तान तिवारीको जन्म स्थल र पुर्ख्यौली थलोसमेत हो ।

सानै उमेरमा क्रिकेटको माध्यमले आफ्नो मुलुक र जन्मथलोको नाम उच्च राख्न पुर्‍याएको योगदानको कदर गर्दै तिवारीलाई सम्मान गरेको नगरप्रमुख पाण्डेले बताए ‘‘यो सम्मानले प्रतिभावन खेलाडीको मनोबल उच्च बनाउनुका साथै अरूका लागिसमेत प्रेरक र अनुकरणीय हुने विश्वास लिएका छौ’’

आफ्नो पुर्ख्यौली थलोमा पाएको सम्मानप्रति हर्ष र आभार प्रकट गर्दै कप्तान तिवारीले अब यू–१९ को तयारीमा जुटेको जानकारी गराए । उनले हरेक सफलताको पछाडि जननी र जन्मभूमिको स्नेह र आशीर्वाद रहने गरेको अनुभव सुनाए ।

जन्मभूमिमा पाएको सम्मानले विभोर हुनु भएका कप्तान तिवारीले बताए , ‘‘यो सहयोग र सम्मानले मलाई गौरवान्वित पार्नुका साथै हौसलासमेत थपेकोले नरपालिका, नगर प्रमुखलगायत सम्पूर्ण नगरवासीप्रति आभार प्रकट गर्दछु ।’’ कप्तान तिवारीले यू–१६ अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको ४ वटा प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy