“गत वर्ष थर्ड सिमरका रुपमा खेल्दा ३ खेल मिस गरे, त्यति बेलानै अर्को वर्ष राम्रो गर्छु भन्ने सोचेको थिएँ” अविनाश बोहरा

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भयो । बुटवलले धनगढीलाई ७ विकेटले पराजित गर्यो।

पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा बुटवलका लागि अविनाश बोहरा नायक बने । अविनाशले ३.५ ओभर बलिङ गर्दैै धनगढीको ४ विकेट हात पारे र धनगढीको ब्याटिङलाई धरासायी पारिदिए । उनले धनगढीका एक ब्याट्सम्यानलाई रनआउट समेत बनाउन सफल रहे। बोहोराले धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरी, डिएस पुन्जा, अनिल खरेल र कमल सिंह ऐरीको विकेट लिए । यस्तै उनले अमित यादवलाई रन आउट गराए।

अविनाशलाई समर्थकले नेपाली मालिंगा पनि भनेर बोलाउने गर्छन् । उनले आफुलाई सधैं प्रमाणित गर्दै आएका छन् । यसअघि बिराटनगर टाइटान्स विरुद्ध सुपर ओभरमा उत्कृष्ट बलिङ गरेका थिए। बोहोरा सुपर ओभरमा बलिङ गर्न आएपछि १३ रनको लक्ष्य पछ्याएको बिराटनगरले २ विकेट गुमांउदै केबल २ रन बनाउन सक्यो। आज पनि उनले आफुलाई दिइएको उपमाको कारण सिद्ध पारीदिए । बुटवललाई प्लेअफ पुग्न महत्वपूर्ण मानिएको खेलमा उल्लेख्य प्रदर्शन गरेर टोलीको प्लेअफसम्मको यात्रा तय गरिदिए।

दुई वर्ष अघिसम्म अविनाशलाई कमैले चिन्ने गर्थे । उनी स्वयंम अघिल्लो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल)मा ३ खेल मात्र खेल्न पाउँदा अर्को संस्करणमा अझ राम्रो गरेर आउँछु भन्ने दृढता बोकेको बताउँछन्- ‘अघिल्लो संस्करणमा थोरै खेल्न पाएको थिएँ, अझ थर्ड सिमरका रुपमा, पछि ३ वटा लिगको खेल पनि मिस गरेँ।’  बोहोरा भन्छन् – ‘त्यति बेला नै अर्को वर्ष राम्रो गर्छु भन्ने सोचेको थिएँ ।’

२२ वर्षीय बोहोराले गएको जनवरीमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । युएई विरुद्द भएको टी–ट्वान्टी सिरीजमा डेब्यु गरेका बोहरा पहिलो प्रतियोगितामै प्लेयर अफ द सिरिज घोषित भएका थिए। त्यसपछि उनले नेपालको लागि २३ वटा टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलिसकेका छन् ।बोहोराले २३ टि–ट्वान्टीमा १६ विकेट लिन सफल भएका छन् । लिस्ट ए मा एक खेल खेलेका उनले आफ्नो नाममा ३ विकेट पार्न सफल रहे।

आजको खेलमा उनलाई अनुभवले साथ दिएको प्रतिक्रिया जनाए । उनलाई राष्ट्रिय टिममा खेलेका आत्मबलले यस्ता फ़्रेन्चाइजमा आफुलाई साथ दिएको बताए । ‘माथि(राष्ट्रिय टिम) खेलेको अनुभव मसँग छ। राष्ट्रिय टिमको अनुभवले आत्मबल प्रदान गर्दो रहेछ।’

उनले सुरुमा डट बल फाल्ने मात्र सोचेको बताउँछन् । विकेट भन्दा पनि डटबल फालेर कम स्कोरमा रोक्नु आफ्नो सोच रहेको बोहोराले बताए ।‘डटबल फालेर कम स्कोरमा रोक्न चाहन्थेँ ।’ बोहोराले भने,‘विकेट पनि निस्किए प्लस पोइन्ट बन्थ्यो ।’

बोहोरालाई आज दिपेन्द्र सिंह ऐरीको थोरै डर रहेको थियो । ‘दिपेन्द्रले निकै राम्रो खेलिराथ्यो, उसलाई डट फालेर रोक्न चाहन्थेँ ।’ बोहराले सुनाए,‘उसलाई आउट गर्न खोजिरहेको थिएँ, यदि नगरेको भए उसले खेललाई १८० सम्म पुर्याउन सक्थ्यो, त्यसैले उसको अलि बढी डर थियो ।’

दिपेन्द्रलाई आउट गरिसकेपछि भने आफु आफ्नो प्राकृतिक खेल खेल्न पाएको बोहराले बताए । नयाँ ब्याट्सम्यान आएपछि निर्धक्क भएर योर्कर फाल्न सकेको बोहोरा सुनाउँछन् । ‘दिपेन्द्र हुँदासम्म सोचेर फाल्नु परेको थियोे ।’ बोहराले भने,‘नयाँ ब्याट्सम्यान आइसकेपछि निर्धक्क मेरो तागत अर्थात योर्कर फाल्न सकेँ ।’

Abinash Bohara

आज खेल चलिरहँदा बोहरा दिपेन्द्रसँग जिस्किरहेका थिए। उनी पिचमा हुँदा दिपेन्द्र अर्को टोलीकै भएपनि दिपेन्द्रसँग जिस्किन रमाइलो लाग्ने बताउँछन् । यसरी जिस्किँदा उनलाई आनन्द आउने बोहोराले बताए । ‘हामी एकदमै मिल्ने साथी हौँ, उसँग म जिस्किरहेको हुन्छु । ’बोहोराले सुनाए,‘उसँग जिस्किन रमाइलो लाग्छ । आज त उसले टिममा हुँदा बोल्दैनस्,अहिले बोल्छस् पनि भन्यो।’

उनी अब आफ्नो टोलीले पीपीएलको उपाधि जित्न हरसम्भव प्रयास गर्ने बताउँछन् । प्लेअफमा अझै राम्रो खेलेर फाइनलसम्म पुग्ने लक्ष्य रहेको बोहोराले बताए । उनी अबका खेलहरुमा पनि सम्हालिएर खेलेर उपाधि जित्न आफु सम्हिलित टोली लागिपरेको बताए ।

“अविनाशले धनगढीको रफ्तार रोकेर हामी फाइदामा पुग्यौँ” – खेलपछि बुटवलका कप्तान सोमपाल कामीले समेत बोहोरको तारिफ गरे । उनले सुरुमा धनगढीले १६० भन्दा बढी गराउँछ भन्ने सोचेको तर पछि बोहोराले उत्कृष्ट प्रदर्शन गर्दा आफुहरुलाई फाइदा पुगेको बताउँछन् ।

“सुरुमा दिपेन्द्र र सन्दिप जोराको साझेदारी देख्दा १६० सम्म पुर्यायाउँछन् भन्ने लागेको थियो” कप्तान सोमपालले भने, “पछि अविनाशले कमब्याक गर्दा हामीलाई फाइदा पुग्यो ।”

धनगढी बिरुद्ध जित संगै बुटवल प्ले अफ पुगेको हो । ४ खेलमा ६ अंक जोडेको बुटवल प्ले अफ पुगेको छ । बुटवलले अब लिग चरणको अन्तिम खेलमा बुधबार बिराटनगर टाइटान्सको सामना गर्ने छ।

( फिचर फोटो – बुटवल ब्लास्टर्स फेसबुक )





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]