काठमाडौं । एसीसी महिला एसिया कपको नवौं संस्करण आज (शुक्रबार) बाट श्रीलंकामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले युएईको महिला टोलीको सामना गर्दैछ ।
दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा श्रीलंकाको डम्बुलामा हुनेछ । तेस्रो पटक प्रतियोगितामा सहभागी नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपालले एसिया कपमा हालसम्म आठ खेल खेलेकोमा कुनै जित निकाल्न सकेको छैन । आजको खेलमा युएईलाई हराउँदै नेपाल ऐतिहासिक जित निकाल्ने लक्ष्यमा रहेको छ ।
कम्तिमा दुई खेलमा जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको नेपाली टोलीका लागि यो खेल महत्वपुर्ण रहने छ । यो खेलमा जितका साथ प्रतियोगिताको सेमिफाइनल सम्भावना बलियो बनाउँने लक्ष्यमा नेपाल रहेको छ । युएई पनि सोहि लक्ष्यमा रहनेछ ।
दोस्रो खेलमा आईतबार पाकिस्तानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।