पोखरामा इंग्ल्यान्डका विकेटकिपर रोसिङटन अनुबन्ध

२०८२ कार्तिक ८, शुक्रबार १४:३२

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।

पोखरा एभेन्जर्सले आगामी एनपिएलका लागि रोसिङटनलाई अनुबन्ध गरेको एक विज्ञप्तीमार्फत जनाएको छ । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो। रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् ।

रोसिङटनले घरेलु स्तरमा लामो करियर बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय रहेका थिए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी–२० फार्मेटमा सयौँ खेल खेलेका छन् । करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन्। दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा मैदानमा उनको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्याउनेछ र पावरप्लेमा तीव्र सुरुवात गराउने क्षमताका लागि उनी परिचित छन् ।

रोसिङटनले विश्वभरका प्रमुख टी–२० लिगहरूमा पनि खेल्दै अनुभव सङ्कलन गरेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए । त्यही क्रममा फाइनलमा उनले ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए। साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी–२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन् । यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy