राष्ट्रिय टिमको जर्सी प्रायोजन अधिकारको लागि एडप्याड र क्यान बीच सम्झौता

२०७७ पुष १४, मंगलवार २०:०३

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजन एडप्याड प्रालिले गर्ने भएको छ। एएनएस ग्रुप अफ कम्पनीज अन्तर्गत गरेको एडप्याड र नेपाल क्रिकेट संघ बीच मंगलबार प्रायोजन सम्झौता भएको हो।

१५ महिना अवधि रहेको सम्झौतामा क्रिकेट संघको तर्फबाट चतुरबहादुर चन्द र एडप्याडको तर्फबाट सुदिप थापाले हस्ताक्षर गरेका हुन्। सम्झौता पछि अब नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीमा प्रायोजक खोज्ने र बिक्रि गर्ने अधिकार एडप्याडको भएको छ।

दुवै पक्षले सम्झौता रकम नखुलाएको भएता पनि खेलनेपाललाई श्रोतबाट जानकारी प्राप्त भए अनुसार सम्झौता रकम ५० लाख भन्दा बढी रहेको छ। तर अधिकारिक रुपमा भने रकम खुलाउन नपाउने सम्झौता रहेको छ।

नेपाल क्रिकेट संघले गत साता मात्रै दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि सगरमाथा सिमेन्टसंग प्रायोजन सम्झौता गरेको थियो। यस्तै प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रशारणको लागि याक्सन स्पोर्ट्स च्यानलसंग सम्झौता गरेको थियो। दुवै सम्झौताको रकम पनि क्यानले खुलाएको छैन। श्रोतका अनुसार प्रधानमन्त्री कप महिला टि-२० को लागि सगरमाथा सिमेन्टले ५ लाख रुपैयाँ दिने सम्झौता भएको हो भने याक्सन स्पोर्ट्सले पुरुष र महिला प्रम कपको प्रत्यक्ष प्रशारणको लागि १० देखि १५ लाख रुपैयाँ क्यानलाई प्रदान गर्नेछ।

नेपाल क्रिकेट संघ क्यान पुनर्गठन भएता पनि हालसम्म आईसीसीले क्यानलाई बजेट निकासा नगर्दा क्यान आर्थिक संकटमा रहँदै आएको छ। क्यानलाई यसै वर्ष नेपालमा आयोजना भएको नेपाल, ओमान र अमेरीका बीचको आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजबाट उठेको रकमले राहत दिएको थियो। बजेट निकासा नहुँदा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समेत क्यानले मिति तोक्न सकेको छैन। यो अवस्थामा पाएको जर्सी प्रायोजनले पनि संघलाई राहत दिनेछ।

“२५ वर्ष देखि विज्ञापनमा अनुभव रहेको एएनएस ग्रुपसंग सहकार्य हुनु क्यानको लागि खुसिको दिन हो। यसले क्यानले लय समातेको सकरात्मक संदेश प्रवाह हुन्छ।” सम्झौता पनि क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए। एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले नेपाल क्रिकेट संघ नजिक रहेर काम गर्न पाउदा खुसि व्यक्त गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy